आईसीपीदेखि सेजसम्मः रुपन्देही–३ मा आर्थिक कायापलटको एजेन्डा लिएर डा. लेखजंग थापा

रुपन्देही खबर , ७६  पटक हेरिएको

भैरहवा, फागुन १४

चुनावी सरगर्मी चुलिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले सीमावर्ती व्यापार र औद्योगिक विकासलाई आफ्नो अभियानको केन्द्रमा राख्नु भएको छ ।

घरदैलोका क्रममा मतदातासँग संवाद गर्दै उहाले भैरहवास्थित निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) सुविधा सम्पन्न भन्सार कार्यालयलाई छिटो सञ्चालनमा ल्याउन पहल गर्ने बताउनु भएको छ। उहाका अनुसार नेपाल–भारत खुला सीमाको सन्दर्भमा आधुनिक र प्रविधिमैत्री भन्सार प्रणाली अनिवार्य भइसकेको छ।

“सीमामा पारदर्शिता र व्यवस्थापन सुधारिए मात्र राजस्व वृद्धि र तस्करी नियन्त्रण सम्भव हुन्छ,” उनले भने, “आईसीपी पूर्ण रूपमा सञ्चालनमा आएपछि आयात–निर्यात प्रक्रिया सहज र द्रुत हुनेछ।”

डा. थापाले भैरहवालाई केवल प्रवेशद्वारको रूपमा होइन, आर्थिक गतिशीलताको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नु भएको छ । बढ्दो व्यापारिक सम्भावनालाई संस्थागत गर्न नीतिगत स्पष्टता र पूर्वाधार विस्तार आवश्यक रहेको उहाको तर्क थियो ।

उहाले नेपालको पहिलो विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रभावकारी बनाउन सेवा–सुविधा विस्तार, स्थिर विद्युत आपूर्ति, कर संरचनामा सहजीकरण र प्रशासनिक प्रक्रियामा सरलीकरण गर्नुपर्ने बताउनु भएको छ । उद्योगमैत्री वातावरण तयार भए मात्रै लगानी भित्रिने र रोजगारी सिर्जना हुने उहाको भनाइ थियो।

रोजगारी, स्थानीय उत्पादन प्रवद्र्धन र निर्यात वृद्धि आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उहाले रुपन्देहीलाई आत्मनिर्भर आर्थिक आधार भएको जिल्ला बनाउने लक्ष्य लिएको मतदाता समक्ष राख्नु भएको छ ।

मतदाताले उठाएका भन्सार व्यवस्थापन, उद्योग सञ्चालन र रोजगारीका सवाललाई चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता जनाउँदै उहाले पारदर्शिता र सुशासनलाई विकासको मुख्य आधार बनाउने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : २१:१३:४७ , ४ घन्टा अगाडि