मर्चवारमा मौन लहर : धुलाम्मे बाटोबाट विकासको नयाँ अध्यायतर्फ भोपेन्द्र यादव

रुपन्देही खबर , ९२  पटक हेरिएको

मर्चवार, फागुन १५

मर्चवारका गाउँहरूमा चुनावी चहलपहल त छ, तर यो पटकको माहोल केही फरक देखिन्छ । ठूलो स्वरका नाराभन्दा बढी घर–आँगनका साना संवादले प्रभाव पारिरहेका छन् । यही मौन तर गहिरो बहसको केन्द्रमा छन् जनमत पार्टीका उम्मेदवार भोपेन्द्र यादव ।

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर ४ मा उहाको पक्षमा देखिएको ‘साइलेन्ट लहर’ले राजनीतिक माहोललाई नयाँ रंग दिएको छ । राजनीतिमा नयाँ अनुहार भए पनि यादवले प्रस्तुत गरिरहेको विकासको स्पष्ट खाका मतदाताबीच चर्चा र अपेक्षाको विषय बनेको छ ।

मर्चवार अझै पनि कच्ची सडक, सिँचाइ अभाव, गुणस्तरहीन शिक्षा र कमजोर स्वास्थ्य सेवाको समस्यासँग जुधिरहेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलोले ढाकिने सडक यहाँका बासिन्दाका लागि पुरानै कथा हो । यादवले यही यथार्थ बदल्ने प्रतिबद्धता जनाउनु भएको छ । भित्री सडकलाई मुख्य राजमार्गसँग जोड्दै गुणस्तरीय कालोपत्रे गर्ने र मर्चवारको ‘हिलो र धुलो’लाई इतिहासमा सीमित गर्ने ।

किसानका समस्या उहाको मुख्य एजेण्डा बनेका छन्। एक बोरा मलका लागि सीमापार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने, मलको कालोबजारी रोक्ने, हरेक खेतमा सिँचाइको व्यवस्था गर्ने र तरकारी उत्पादकका लागि बजार सुनिश्चित गर्ने योजना उहाले घरदैलोका क्रममा दोहोर्याइरहनु भएको छ । कृषि प्रधान क्षेत्रलाई कृषिमा आधारित साना उद्योगसँग जोडेर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उहाको संकल्प पनि छ ।

शिक्षा र स्वास्थ्यतर्फ पनि उहाका प्राथमिकता स्पष्ट छन्। उच्च शिक्षाका लागि बाहिर धाउनुपर्ने अवस्था अन्त्य गर्न प्राविधिक शिक्षालय स्थापना, सरकारी विद्यालय सुधार र गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा विस्तार गर्ने उहाको योजना छ ।

घरदैलोमा उहा बारम्बार एउटै कुरा दोहोर्याइ रहनु भएको छ । “म यहाँ राजनीति गर्न मात्र आएको होइन, विकासको जग हाल्न आएको हुँ ।” उहाको सरल शैली र स्पष्ट वक्तापनले मतदातामा कौतुहलता र भरोसा दुवै बढाएको देखिन्छ ।

अब प्रश्न एउटै छ—यो मौन समर्थन मतपेटिकासम्म पुग्छ कि पुग्दैन ? यदि यो लहर कायम रह्यो भने, रुपन्देही–४ को राजनीतिमा नयाँ अध्याय सुरु हुन सक्छ । मर्चवारले वर्षौँदेखि पर्खिरहेको विकासको जग बस्ने कि नबस्ने, त्यसको फैसला अब मतदाताकै हातमा छ ।

प्रकाशित मिति: २०२६-०२-२७ , समय : २२:१८:५१ , ४ घन्टा अगाडि