रुपन्देही खबर , २०० पटक हेरिएको
मर्चवार, फागुन १७
जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ४ को मझगावामा विशाल आमसभा सम्पन्न गर्दै चुनावी शक्ति प्रदर्शन गरेको छ । हजारौंको संख्यामा उपस्थित युवा समर्थक, किसान तथा स्थानीय सर्वसाधारणले उम्मेदवार भोपेन्द्र प्रसाद यादवको पक्षमा ऐक्यबद्धता जनाएका थिए । सभालाई सम्बोधन गर्दै यादवले शान्तिपूर्ण रूपमा आफ्ना एजेन्डा राख्न खोज्दा प्रशासन प्रयोग गरेर अवरोध गर्न खोजिएको आरोप लगाउनु भएको छ । “तर आज मर्चवारका जनताले प्रमाणित गरिदिनुभयो कि परिवर्तनको लहर कसैले रोक्न सक्दैन,” उहाले भन्नु भयो ।

यादवले किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्दै प्रत्येक वडामा मल भण्डारण केन्द्र स्थापना गर्ने, सीमाक्षेत्रमा किसानले भोग्नुपर्ने सास्ती अन्त्य गर्ने र मर्चवार लिफ्ट सिँचाइ आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । किसानलाई विद्युत् महसुलमा छुट दिने योजना पनि उहाले अघि सार्नु भएको छ ।

स्थानीय श्रीराम यादवका अनुसार सभामा देखिएको जनसहभागिताले परम्परागत शक्तिहरूलाई चुनौती दिएको छ । युवाहरू विशेष रूपमा ‘हर्न’ चुनाव चिह्नसहित मैदानमा उत्रिएको देखिन्थ्यो । यसअघि नेपाली कांग्रेस का आशुतोष मिश्र र जनता समाजवादी पार्टी, नेपाल का सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिए पनि जनमत पार्टीले अहिले आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको दाबी गरेको छ ।
अघिल्लो निर्वाचनको पृष्ठभूमि
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बाट सर्वेन्द्रनाथ शुक्ला निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका प्रमोद कुमार यादव दोस्रो र जनमत पार्टीका भोपेन्द्र यादव तेस्रो स्थानमा रहेका थिए ।
समानुपातिकतर्फ लोकतान्त्रिक समाजवादी पार्टीले २२ हजार ३७ मत, कांग्रेसले १८ हजार ८३२, जनमतले १६ हजार ४५८, नेकपा (एमाले) ले २ हजार ८२३ र राष्ट्रिय स्वतन्त्र पार्टी ले १ हजार ६५७ मत प्राप्त गरेका थिए ।
यसपटक एमालेले कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको छ भने रास्वपाबाट कन्हैया बनियाँ उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार अन्तिम समयमा आफ्नो साविकको दल त्यागेर चुनावी मैदानमा उत्रिएका हुन् ।
जनमतका राष्ट्रिय सचिवसमेत रहेका भोपेन्द्र यादवले अघिल्लो पटक तेस्रो भए पनि यसपटक पहिलो बन्ने आधार बलियो रहेको दाबी गरेका छन् । “म वर्षौंदेखि क्षेत्रमै खटिरहेको छु, जनताको विश्वास बढेको छ,” उनले भने ।
पूर्वमन्त्री शुक्ला भने २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आठौं पटक चुनावी मैदानमा छन् । उनले आफूले गरेको विकास नै जितको आधार हुने बताएका छन् ।
क्षेत्रको सामाजिक–राजनीतिक अवस्था
मधेशी समुदायको बाहुल्यता रहेको यो निर्वाचन क्षेत्र भारत सीमासँग जोडिएको छ । मर्चवारीमाई, कोटहीमाई, सम्मरीमाई गाउँपालिका पूरै तथा मायादेवी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा यस क्षेत्रमा पर्छन् । यहाँ कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका छन् ।
२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ
प्रकाशित मिति: २०२६-०३-०१ , समय : ०९:११:२४ , ३ दिन अगाडि