रुपन्देही खबर , ९७ पटक हेरिएको
भैरहवा,फागुन १७
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार फैज अहमद खाँले उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नु भएको छ ।

स्थानीय उद्योगी–व्यवसायीहरूको उल्लेख्य उपस्थितिमा आयोजित कार्यक्रममा व्यवसाय क्षेत्रसँग जोडिएका विविध समस्या, चुनौती र सम्भावनाबारे खुला छलफल गरिएको थियो। सहभागीहरूले बजारको सुस्तता, बैंक ब्याजदर, सीमावर्ती व्यापारका जटिलता, कर प्रणाली तथा पूर्वाधार अभावजस्ता विषय उठाएका थिए।
कार्यक्रममा उम्मेदवार खाँले व्यवसायीका जिज्ञासा, सुझाव र सरोकार ध्यानपूर्वक सुन्दै आफू निर्वाचित भए उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको छ। उहाले सीमावर्ती सहर भैरहवाको आर्थिक सम्भावनालाई नीति र योजनामार्फत सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
“उद्योगी–व्यवसायीको मनोबल उच्च नभएसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन,” खाँले भने, “नीतिगत स्थायित्व, पारदर्शी कर प्रणाली र पूर्वाधार विकासमार्फत निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्नुपर्छ।”
अन्तरक्रियामा सहभागी व्यवसायीहरूले पनि राजनीतिक दलले चुनावी घोषणामै सीमित नभई कार्यान्वयनमा इमान्दार हुनुपर्ने सुझाव दिएका थिए। कार्यक्रमले उम्मेदवार र निजी क्षेत्रबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको सहभागीहरूको भनाइ थियो।
प्रकाशित मिति: २०२६-०३-०१ , समय : १५:१४:०१ , ५ घन्टा अगाडि