रुपन्देही खबर , ८३ पटक हेरिएको
भैरहवा, फागुन १८
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिंदै जाँदा रुपन्देही क्षेत्र नम्बर ५ मा जनमत पार्टी को जनलहर उल्लेखनीय रूपमा बढ्दै गएको छ । पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश यादव ‘गुल्जारी’ प्रति मतदातामा देखिएको भरोसा, उहाँका विकासमुखी योजनाप्रतिको विश्वास र स्थानीय तहमा तीव्र घरदैलो अभियानका कारण समर्थकहरूमा उत्साह थपिएको छ ।

पछिल्ला केही दिनयता क्षेत्रका विभिन्न टोल–बस्तीमा भइरहेको घरदैलो तथा भेटघाट कार्यक्रमले चुनावी माहोल झनै तातेको छ । स्थानीय बासिन्दा, उद्योगी, व्यवसायी, युवा तथा महिला समूहसँग प्रत्यक्ष संवाद गर्दै यादवले आफ्नो स्पष्ट विकास दृष्टिकोण प्रस्तुत गरिरहनु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका का विभिन्न वडामा आयोजित कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ । कार्यक्रममा उपस्थित मतदाताले उहाँको समर्पण, पारदर्शिता र क्षेत्रीय विकासप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन् । धेरैले यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै यादवलाई पूर्ण समर्थन रहने बताएका छन् ।

घरदैलो अभियानका क्रममा यादवले प्रत्येक घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । उहाँले स्थानीय जनताको जीवनस्तर उकास्ने दीर्घकालीन योजना अघि सारेका छन् । पूर्वाधार विकास, सडक तथा ढल व्यवस्थापन, गुणस्तरीय शिक्षा विस्तार, स्वास्थ्य सेवामा सहज पहुँच र युवाका लागि रोजगारी सिर्जना आफ्ना मुख्य एजेण्डा रहेको उहाँले बताउनुभयो ।
विशेषगरी युवापुस्तामा रोजगारी र उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्दै साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ । त्यस्तै, कृषि क्षेत्रको आधुनिकीकरण र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रममार्फत किसानको आयस्तर वृद्धि गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै लुम्बिनी को ऐतिहासिक तथा धार्मिक महत्वलाई संरक्षण र प्रवर्द्धन गरिने बताउनुभयो । साथै गौतम बुद्ध को शान्ति र सहिष्णुताको सन्देशलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै क्षेत्रलाई शान्ति, सद्भाव र समृद्धिको केन्द्र बनाउने आफ्नो लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचन मिति नजिकिँदै जाँदा रुपन्देही–५ मा जनमत पार्टीको बढ्दो सक्रियता र मतदातामा देखिएको उत्साहले यस पटकको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ ।
प्रकाशित मिति: २०२६-०३-०२ , समय : ०८:०४:१४ , १९ घन्टा अगाडि