रुपन्देही खबर , ५९ पटक हेरिएको
काठमाण्डाै,फागुन २०
भाेलि हुने प्रतिनिधिसभा सदस्य चुनावकाे सम्पूर्ण तयारी पूरा भएकाे गृह मन्त्रालयले जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा मन्त्रालयले चुनावकाे सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।
बैठकमा चुनावकाे तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट चुनावकाे सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।
बैठकमा जिल्लाको चुनाव तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, चुनावको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आउँदाे रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
गृहसचिव श्रेष्ठले चुनावी सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिनुभएको थियो ।
प्रकाशित मिति: २०२६-०३-०४ , समय : १३:४९:१० , ३ घन्टा अगाडि