रुपन्देही–३ को विकासका लागि सहकार्य गर्न तयार : सुशील गुरुङ्ग

रुपन्देही खबर , ८२  पटक हेरिएको

भैरहवा, फागुन २४

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ्गले जनताको निर्णयलाई सम्मान गर्नु नै लोकतन्त्रको सुन्दरता भएको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक व्यवस्थामा जनताले दिएको मत र निर्णय सबैभन्दा महत्वपूर्ण हुने भन्दै निर्वाचनको परिणामलाई सकारात्मक रूपमा स्वीकार गर्दै अगाडि बढ्नु नै सच्चा लोकतान्त्रिक संस्कार भएको बताउनुभयो ।

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही–३ बाट विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापालाई गुरुङ्गले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले डा. थापाले जनताको अपेक्षा र विश्वासअनुसार काम गर्दै क्षेत्रको विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यस निर्वाचनमा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनुभएका युवा नेता गुरुङ्गले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाई आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचन लोकतन्त्रको उत्सव भएको उल्लेख गर्दै मतदाताले देखाएको विश्वास र सहभागितालाई सधैं सम्मान गर्ने बताउनुभयो ।

गुरुङ्गले निर्वाचनका क्रममा आफूलाई साथ, समर्थन र सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा सम्पूर्ण मतदाताप्रति पनि आभार व्यक्त गर्नुभयो । उहाँले निर्वाचन परिणाम जस्तोसुकै भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता भने अटल रहने स्पष्ट पार्नुभयो ।

“जनताको निर्णय सधैं सम्मानयोग्य हुन्छ । लोकतन्त्रमा जनता नै सबैभन्दा ठूलो शक्ति हुन्,” गुरुङ्गले भन्नुभयो, “रुपन्देही क्षेत्र नम्बर ३ को विकास, समृद्धि र जनताको हितका लागि भविष्यमा पनि सकारात्मक सोचका साथ सहकार्य गर्दै अगाडि बढ्नेछौं ।”

उहाँले रुपन्देही–३ लाई विकास, समृद्धि र अवसरको केन्द्रका रूपमा अगाडि बढाउन सबै राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच सहकार्य र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । क्षेत्रको विकासका लागि आफू सधैं सकारात्मक भूमिका खेल्न तयार रहेको उहाँको भनाइ छ ।

गुरुङ्गले निर्वाचनपछि पनि जनताको समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्दै समाधानका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, सहिष्णुता र सहकार्यको भावनालाई मजबुत बनाउँदै क्षेत्रको समग्र विकासका लागि सबैसँग मिलेर काम गर्ने धारणा राख्नुभएको छ ।

प्रकाशित मिति: २०२६-०३-०८ , समय : १३:१७:४७ , ३ घन्टा अगाडि