६ दलले समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाए

रुपन्देही खबर , ९९  पटक हेरिएको

काठमाडौँ, चैत १

प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका छन्। दलहरूले यसअघि पेश गरेको बन्दसूची र तोकिएको क्लष्टर अनुसार प्रतिनिधित्व मिलाएर नामावली बुझाएका हुन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार दलहरूले बुझाएको नाम क्लष्टरअनुसार मिलेको भए सार्वजनिक गरिने र नमिलेमा मिलाउन समय दिइनेछ।

६ दलमध्ये १६ सिट प्राप्त गरेको नेकपा एमालेले समानुपातिक सांसदहरूको नाम हिजै सार्वजनिक गरिसकेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**ले आज बसेको सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो। रास्वपाले ४८ जना महिला र ९ जना पुरुषको नाम आयोगमा बुझाएको र औपचारिक सूची आयोगले नै सार्वजनिक गर्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

यसैगरी २० सिट प्राप्त गरेको नेपाली कांग्रेसले पनि आजै समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाएको छ। कांग्रेसले १५ जना महिलासहित २० जनाको नाम बुझाएको र सूची आयोगले नै सार्वजनिक गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।

९ सिट प्राप्त गरेको **नेपाली कम्युनिस्ट पार्टी (नेकपा)**ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ।

त्यस्तै ४ सिट प्राप्त गरेको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम आयोगमा बुझाएको छ।

यसैगरी ४ सिट प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम समानुपातिक सांसदका लागि पठाएको छ। दलहरूले बुझाएको नामावली क्लष्टरअनुसार मिलेको भए निर्वाचन आयोगले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-१५ , समय : २०:३२:४३ , ३ घन्टा अगाडि