रुपन्देही खबर , १२१ पटक हेरिएको
तिलोत्तमा,चैत ३
बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको गुनासो आएपछि तिलोत्तमा क्षेत्रमा नगरपालिकाले अनुगमन तीव्र बनाएको छ । उपभोक्ताले केही स्थानमा ग्यास सहज रूपमा नपाएको, पसलमा लुकाएर राखिएको तथा खरिद गर्न जाँदा अभाव भएको गुनासो गरेपछि सम्बन्धित निकाय सक्रिय बनेका हुन् ।
तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीको नेतृत्वमा नगरका कर्मचारी, तिलोत्तमा व्यापार संघ, उद्योग व्यापार संगठन तिलोत्तमा, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नगर प्रहरीको टोलीले डिलर, विक्रेता र उद्योगहरूमा पुगेर निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा उपप्रमुख चौधरीले कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिँदै यस्ता गतिविधि नगर्न आग्रह गर्नु भएको छ । उहाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न समेत अनुरोध गर्दै उद्योगहरूमा ग्यास पर्याप्त रहेको जानकारी दिनु भयो ।
अनुगमनमा राजश्व शाखा प्रमुख इन्द्रदत्त सापकोटा, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष प्रेम जीएम, तिलोत्तमा व्यापार संघका प्रतिनिधि तथा नगर प्रहरीको सहभागिता रहेको थियो ।
तिलोत्तमामा सञ्चालित सिद्धार्थ ग्यास उद्योगका व्यवस्थापक लक्ष्मण पाण्डेका अनुसार बजारमा ग्यास आपूर्ति सामान्य अवस्थामै रहेको र आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । त्यस्तै स्वस्तिक ग्यास उद्योगका व्यवस्थापकले ग्यास पर्याप्त आयात भइरहेको उल्लेख गर्दै वितरण प्रक्रियामा देखिएको अस्थायी समस्या वा उपभोक्ताको अत्यधिक भण्डारणका कारण अभाव जस्तो देखिएको हुन सक्ने बताउनु भएको छ ।
अनुगमन टोलीले विक्रेतालाई उपभोक्तालाई नियमित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ । साथै ग्यास लुकाएर राख्ने, कालोबजारी गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
यता, गुनासो आएका करिब ५ वटा पसलमा गरिएको अनुगमनमा त्यस्तो गतिविधि नदेखिएको आर्थिक विकास शाखा प्रमुख मुक्ति खनालले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०३-१७ , समय : १५:१२:३१ , ३ घन्टा अगाडि