रुपन्देही खबर , ५४ पटक हेरिएको
भैरहवा,जेठ १
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ८ लाख ३९ हजार ७०८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ ।
प्रहरीले बिहिबार जिल्लाका विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा कस्मेटिक सामग्री, औषधि, किराना सामान, फोटो प्रिन्ट पेपर, गाडीका पार्टपुर्जा, बिजुलीका सामान तथा फलफूल बरामद गरेको जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट ४ लाख ३४ हजार ६८० रुपैयाँ बराबरका १२ थान लेडिज सुट, १५० थान निलो फेसवास, १५० थान स्याडो सन्सक्रिमसहित विभिन्न कस्मेटिक सामग्री बरामद गरिएको छ ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट ३६ हजार रुपैयाँ बराबरका ९ रिम फोटो प्रिन्ट पेपर बरामद गरिएको छ भने कोटहीमाई गाउँपालिका–६ कदमहवाबाट १ लाख १४ हजार ७८४ रुपैयाँ बराबरका विभिन्न औषधि फेला परेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर–२ झण्डीबजारबाट २२ हजार ५४० रुपैयाँ बराबरका ६० किलो केरा तथा अन्य किराना सामग्री बरामद गरिएको छ । यस्तै सिद्धार्थनगर–६ गल्लामण्डीबाट ५४ हजार ९२० रुपैयाँ बराबरका विभिन्न किराना सामान नियन्त्रणमा लिइएको छ ।
मर्चवारीमाई गाउँपालिका–६ भिलरहवाबाट २० हजार ७८४ रुपैयाँ बराबरका गाडीका पार्टपुर्जा र बिजुलीका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, ओमसतिया गाउँपालिका–४ बाट ६१ हजार रुपैयाँ बराबरका ३४० किलो केरा तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ वडओलियाबाट ९५ हजार रुपैयाँ बराबरका चिनी, केराउलगायत दैनिक उपभोग्य सामग्री बरामद गरिएको छ ।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाइएको जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : १३:०१:४६ , २ घन्टा अगाडि