बुटवलको होटलमा युवकको मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा चार पक्राउ

रुपन्देही खबर , १०  पटक हेरिएको

भैरहवा, जेठ ७

बुटवलको नेपालगञ्ज रोडस्थित दियाे इन होटलमा एक युवकले छतबाट हाम फालेर ज्यान दिएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पोखराका कृष्णहरी जी.सी. जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम फालेर मृत अवस्थामा फेला परेका थिए। उनी आफ्ना चार जना साथीसहित होटलमा बस्न आएका थिए।

प्रहरीका अनुसार उनीहरूबीच जग्गा कारोबारको विषयलाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि मृतकका छोराले सँगै रहेका व्यक्तिहरूले मानसिक दबाब दिई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले तीन जनालाई तत्काल नियन्त्रणमा लिएको थियो भने फरार रहेका अर्का एक जनालाई काठमाडौंबाट पक्राउ गरिएको जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेका चारै जनामाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०५-२१ , समय : २२:१९:४३ , १ घन्टा अगाडि