रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापाको पुनः उम्मेदवारी, शक्ति गौचनसँग फेरि प्रतिस्पर्धा हुने

रुपन्देही खबर , ४६  पटक हेरिएको

भैरहवा,जेठ २३

रुपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष हरिबहादुर थापाले पुनः अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत थापाले जेठ २५ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने जानकारी दिनु भएको हो ।

चार वर्षअघि सम्पन्न निर्वाचनमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई पराजित गर्दै संघको नेतृत्व सम्हालेका थापा आगामी कार्यकालका लागि पुनः मैदानमा उत्रिउनु भएको हो । यसपटक पनि अध्यक्ष पदमा थापा र गौचनबीच नै प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। गौचनले समेत विभिन्न सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै थापाले संघका पदाधिकारी, क्रिकेटप्रेमी तथा खेल क्षेत्रसँग आबद्ध व्यक्तिहरूको आग्रहका कारण आफूले पुनः नेतृत्वको जिम्मेवारी लिन चाहेको बताउनु भयो । उहाले आगामी कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालाका बाँकी पूर्वाधार निर्माण कार्य सम्पन्न गर्ने, खेलाडी उत्पादनलाई थप व्यवस्थित बनाउने तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने वातावरण तयार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्नु भयो ।

थापाले आफ्नो नेतृत्वमा रुपन्देही क्रिकेट संघले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न सकिने अवस्थामा पुर्‍याइएको बताए। उनले नियमित प्रशिक्षण, प्रतियोगिता तथा पूर्वाधार विकासमार्फत जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिएको बताउनु भयो ।

“हामीले संघलाई गतिशील रूपमा अघि बढाउँदै रंगशालाको स्तरोन्नति गरेका छौं। खेलाडी उत्पादनका लागि नियमित प्रशिक्षण सञ्चालन गरिएको छ भने विभिन्न उमेर समूहका प्रतियोगितालाई निरन्तरता दिएका छौं,” थापाले भन्नु भयो ।

थापाले निर्वाचनअघि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिएको जानकारी दिँदै शक्ति गौचनसँग पनि छलफल भएको बताउनु भयो ।। उहाले नेतृत्वको अनुभवका दृष्टिले गौचनले कम्तीमा एक कार्यकाल अध्यक्षभन्दा तलको पदमा बसेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सार्वजनिक गर्दै थापाले खेलाडीका लागि मासिक पारिश्रमिकको व्यवस्था, मैदान संरक्षण तथा व्यवस्थापन, टेग निर्माण, तारजाली, कार्यालय व्यवस्थापनका लागि सचिव नियुक्ति, रुपन्देही क्रिकेट एकेडेमी सञ्चालन तथा नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।

त्यस्तै महिला क्रिकेटको विकासका लागि खेलाडीलाई निःशुल्क प्रशिक्षण, खाना तथा घरदेखि मैदानसम्म आउजाउ खर्चको व्यवस्था गरिएको उनले जानकारी दिनु भयो । विद्यालय, प्लस टु, कलेज, क्लब तथा सुपर लिगस्तरीय प्रतियोगिताहरू नियमित सञ्चालन गरी जिल्लामा क्रिकेटको आधार विस्तार गरिएको पनि थापाको दाबी छ।

रुपन्देही क्रिकेट संघको आगामी निर्वाचनलाई जिल्लाको क्रिकेट भविष्यसँग जोडेर हेरिएको छ। दुई प्रभावशाली क्रिकेट व्यक्तित्वबीचको प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ भने नयाँ नेतृत्वले जिल्लाको क्रिकेट विकासलाई कुन दिशा दिने भन्ने विषयमा क्रिकेट वृत्तको चासो बढेको छ।

प्रकाशित मिति: २०२६-०६-०६ , समय : ०८:१४:२९ , २ घन्टा अगाडि