मलमास सकियो, मौन स्नानसहित मनाइयो सोमबारे औँसी

रुपन्देही खबर , ५३  पटक हेरिएको

भैरहवा, असार १

मलमास अर्थात् अधिकमास आजदेखि समाप्त भएको छ । गएको जेठ ३ गतेदेखि सुरु भएको पुरुषोत्तममासको आज अन्तिम दिन हो । वैदिक सनातन परम्पराअनुसार हरेक करिब ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा अधिकमास पर्ने गर्छ । यसलाई धार्मिक दृष्टिले विशेष महत्त्वपूर्ण महिनाका रूपमा लिइन्छ ।

मलमासको अवसरमा काठमाडौँको दक्षिण–पश्चिम क्षेत्रमा रहेको मत्स्यनारायण मन्दिर मा एक महिनादेखि जारी मेला आज सम्पन्न हुँदैछ । अधिकमास अवधिभर भक्तजनहरूले पूजा, आराधना तथा धार्मिक अनुष्ठानमा सहभागिता जनाएका थिए । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित नृसिंहधाममा पनि एक महिने धार्मिक मेला आयोजना गरिएको थियो । मलमासको समाप्तिसँगै रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू पुनः सुरु हुने भएका छन् ।

यसैक्रममा पर्सि रातो मच्छिन्द्रनाथ रथ जात्रा अन्तर्गत रथलाई लगनखेलको थतिटोलबाट तानेर जावलाखेल पुर्‍याउने तयारी गरिएको छ । आज सोमबारे औँसीसमेत परेको छ । सोमबार औँसीका दिन बिहान मौन बसेर स्नान गर्ने परम्परा वैदिक सनातन धर्मावलम्बीहरूमा प्राचीनकालदेखि चलिआएको विश्वास गरिन्छ । अधिक ज्येष्ठ कृष्ण औँसी सोमबार परेको अवसरमा धेरै श्रद्धालुले बिहानै नदी, तीर्थ तथा पवित्र जलाशयमा स्नान गरी पूजा–आराधना गरेका छन् ।

प्रकाशित मिति: २०२६-०६-१५ , समय : ०९:२७:५४ , ३ घन्टा अगाडि