रुपन्देही खबर , २३ पटक हेरिएको
भैरहवा,असार १२
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका तालिम समिति संयोजक स्वर्गीय पत्रकार अरुण ज्ञवालीको १३ औं दिनको पुण्यतिथिको अवसरमाआज भैरहवाको बुद्धचोकमा श्रद्धाञ्जली तथा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा भएको कार्यक्रममा पत्रकार, शुभेच्छुक तथा सर्वसाधारणह रु उपस्थित भइ स्वर्गीय ज्ञवालीप्रति श्रद्धाञ्जली अर्पण गरेकोे क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिनु भयो । उहाँले पत्रकारिताप्रति समर्पित व्यक्तित्वको योगदानलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा सबैको सहभागीताले उहाँप्रतिको सच्चा सम्मान प्रकट हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक तथा क्लबको कार्यसमिति सदस्य एलिना आचार्यले स्वर्गीय ज्ञवाली यस क्षेत्रका अनुभवी, निष्ठावान र सिर्जनशील पत्रकार भएको बताउनुभयो । उहाँले करिब तीन दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै दैनिक निर्णय भैरहवाबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि उहाँले लुम्बिनी दैनिक, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा झण्डै दुई दशकसम्म सेवा दिनुका साथै रुपन्देही एफएम, सिद्धार्थ एफएम, लुम्बिनी खबर लगायत एक दर्जनभन्दा बढी सञ्चार माध्यममा काम गर्दै पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउनुभएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले स्वर्गीय ज्ञवालीलाई अब्बल लेखक, दक्ष पत्रकार तथा पत्रकारिताको मर्यादा र व्यवसायिक मूल्यप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्र र लुम्बिनी प्रेस क्लबको संस्थागत विकासमा उहाँले पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताउँदै कार्यक्रममा सहभागी भइ श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्ण सञ्चारकर्मी, शुभेच्छुक तथा नागरिकलाई आग्रह गर्नुभयो ।
स्वर्गीय पत्रकार अरुण ज्ञवालीको हृदयाघात लगायत स्वास्थ्य समस्याका कारण निधन भएको हो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। आजको कार्यक्रममा उहाँको तस्वीरमा पुष्पाञ्जली अर्पण गर्नुका साथै सामूहिक दीप प्रज्वलन गरी पुण्य आत्माको चिरशान्तिको कामना गरिएको लुम्बिनी प्रेस क्लबले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०६-२६ , समय : २१:५३:४४ , ३ घन्टा अगाडि