ओमसतिया–६ मा ‘पढ्न नसक्नेलाई पढ्न सक्ने बनाउने अभियान’ प्रभावकारी

शैक्षिक सुधारको समीक्षा, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

रुपन्देही खबर , ५७  पटक हेरिएको

नरैनापुर, असार १४

विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘पढ्न नसक्नेलाई पढ्न सक्ने बनाउने अभियान’ प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन् ।


“सिकाइ अभिवृद्धिका लागि गुणस्तरीय शिक्षा” भन्ने मूल नाराका साथ वडा स्तरीय शिक्षा सुधार समिति ओमसतिया–६ रुपन्देहीले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको अभियानको समीक्षा, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


ओमसतिया गाउँपालिका–६ का वडाध्यक्ष शिवकुमार धवलको अध्यक्षता तथा गाउँपालिकाका वरिष्ठ शिक्षा शाखा अधिकृत माधवराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यालयको शैक्षिक वातावरण सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
“बालबालिकाको भविष्य निर्माण गर्ने आधार नै शिक्षा हो, त्यसैले शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक र जनप्रतिनिधिबीच सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो ।
उहाँले विद्यार्थी संख्या कम भएका विद्यालयलाई आवश्यकताका आधारमा समायोजन गर्दै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्नुपर्ने बताउनुभयो । विद्यालयहरूले स्पष्ट योजना बनाएर अघि बढेमा सिकाइ उपलब्धि अझ सुधार हुने उहाँको भनाइ थियो ।

 

कार्यक्रमका अध्यक्ष तथा वडा नं. ६ का वडाध्यक्ष शिवकुमार धवलले वडाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर विभिन्न सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य केवल विद्यार्थीलाई विद्यालय ल्याउनु मात्र होइन, उनीहरूले वास्तवमै सिकून् भन्ने हो । पढ्न नसक्ने विद्यार्थीलाई पढ्न सक्ने बनाउने अभियानले सकारात्मक परिणाम दिएको छ, त्यसैले आगामी शैक्षिक सत्र २०८३ मा पनि यसलाई निरन्तरता दिन्छौँ ।”

यस्तै गरी समाजसेवी अमरजित कोहारले शिक्षाको विकास नै समाज परिवर्तनको आधार भएको बताउँदै विद्यालयको गुणस्तर सुधारमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अतिरिक्त क्रियाकलाप संयोजक रामधारी यादवले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।

​भुनेश्वर चौधरीले विद्यालय, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य भए मात्र शिक्षामा अपेक्षित सुधार ल्याउन सकिने बताउनुभयो ।

छोटकी रामनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद चौधरीले अभियानले कमजोर विद्यार्थीको सिकाइ स्तर सुधार गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले शिक्षकको निरन्तर प्रयास र अभिभावकको सहयोगले विद्यार्थीको आत्मविश्वास बढेको उल्लेख गर्नुभयो ।


वडा स्तरीय शिक्षा सुधार समिति सदस्य अमर सिंह चौधरीले स्वागत मन्तव्य राख्दै समितिले वडाको शैक्षिक सुधारका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले पनि आफ्ना अनुभव प्रस्तुत गरेका थिए । छोटकी रामनगर माध्यमिक विद्यालयकी साइना खातुन, शमशेर माध्यमिक विद्यालय कक्षा ५ की चन्दा हरिजन, भविष्य आधारभूत विद्यालयका रोशन हरिजन, सगरमाथा आधारभूत विद्यालयकी वर्षा कुमारी कोहार, महिमा भुज र दिव्या हरिजन लगायतले शुभकामना मन्तव्य राख्दै अभियानबाट पढाइप्रति रुचि बढेको बताएका थिए ।
कार्यक्रममा वडा क्षेत्रभित्र कक्षा ५ र ८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरिएको थियो । साथै वडाले आयोजना गरेका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

शिक्षालाई सुधारको मुख्य आधार मानेर सञ्चालन गरिएको अभियानले कमजोर विद्यार्थीको सिकाइ सुधारसँगै विद्यालयमा प्रतिस्पर्धात्मक र सकारात्मक वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको सञ्चालन शमशेर माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम यादवले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०६-२८ , समय : ०९:३३:३७ , ३ घन्टा अगाडि