नेकपा सिद्धार्थनगरको प्रथम एकता बैठक सम्पन्न, ९९ सदस्यीय नगर कमिटी गठन

रुपन्देही खबर , ७९  पटक हेरिएको

भैरहवा, साउन ९

नेपाली कम्युनिस्ट पार्टी नेकपा सिद्धार्थनगर कमिटीको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ। बैठकले ९९ सदस्यीय नगर कमिटी गठन गर्दै संगठन विस्तार, राजनीतिक प्रशिक्षण र आगामी सांगठनिक योजनालाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।

नगर संयोजक नारायण बहादुर हमालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य हक्की कुल्लाह खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि खानले केन्द्र, प्रदेश र जिल्ला तहको सांगठनिक संरचना, पार्टीको केन्द्रीय नीति तथा आगामी रणनीतिबारे प्रशिक्षण दिनु भएको थियो । उहाले पार्टीलाई जनस्तरसम्म सुदृढ बनाउँदै वैचारिक र संगठनात्मक रूपमा थप मजबुत बनाउन सबै कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा सिद्धार्थनगरका सह–इञ्चार्ज रामबहादुर बस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रममा रूपन्देही जिल्ला इञ्चार्ज निर्मल जीसी, जिल्ला संयोजक बाबुलाल यादव, केन्द्रीय सदस्यहरू सुजीत बिक, तीरबहादुर रोक्का र मकसूद अली खान तथा प्रदेश सदस्यहरू महेन्द्र भुषाल, फैज अहमद खान, तारापति भण्डारी, मनीष कुमार जोशी, रामबहादुर बस्नेत र विकास रायमाझीलगायतको उपस्थिति रहेको थियो। बैठकमा जिल्ला नेता केशव कुँवरले जिल्ला पार्टीको सर्कुलर वाचन गर्नु भएको थियो भने भने नगर संयोजक नारायण बहादुर हमालले बैठकका एजेन्डा प्रस्तुत गर्नु भएको थियो ।

प्रशिक्षण सत्रमा जिल्ला संयोजक बाबुलाल यादवले पालिका तथा जिल्ला तहका बैठक र भेलाको आवश्यकता, संगठन विस्तार तथा कार्यकर्ता परिचालनका विषयमा धारणा राख्नु भएको थियो । त्यसैगरी जिल्ला इञ्चार्ज निर्मल जीसीले पार्टी संगठन सुदृढीकरण, आगामी सांगठनिक योजना तथा कार्यदिशाबारे प्रशिक्षण दिनु भएको थियो । बैठकको अन्त्यमा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित ९९ सदस्यीय सिद्धार्थनगर नगर कमिटी गठन गर्ने निर्णय गरिएको जनाइएको छ।

नेपाली कम्युनिस्ट पार्टी सिद्धार्थनगरका सह–संयोजक दिलीप प्रजापतिका अनुसार नवगठित नगर कमिटीले संगठन विस्तार, राजनीतिक प्रशिक्षण, जनपरिचालन तथा पार्टीका आगामी कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नेछ ।बैठकले ९९ सदस्यीय नगर कमिटी गठन गर्नुका साथै नेपाली कांग्रेस परित्याग गरी आएका दर्जनौँ नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको छ।

प्रकाशित मिति: २०२६-०७-२५ , समय : २३:०८:३८ , १ घन्टा अगाडि