रुपन्देही खबर , ६७ पटक हेरिएको
भैरहवा, साउन १२
जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनु भएको छ । यादवले सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष डा। सी।के। राउतलाई सम्बोधन गर्दै साउन ११ गतेदेखि लागू हुने गरी राष्ट्रिय सचिव पदबाट राजीनामा बुझाउनु भएको हो । लामो समयदेखि पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवको राजीनामाले जनमत पार्टीभित्रको आन्तरिक राजनीतिक अवस्थाप्रति नयाँ बहस सुरु हुने संकेत गरेको छ।
यादवले आफ्नो राजीनामा पत्रमा पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार इमानदारी, निष्ठा र जिम्मेवारीका साथ काम गर्दै आएको उल्लेख गर्नु भएको छ । उहाले करिब डेढ दशकदेखि पार्टी संगठनको विस्तार, जनअधिकारको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनका लागि निरन्तर योगदान दिएको दाबी गर्नु भएको छ ।
राजीनामाको मुख्य कारण स्पष्ट पार्दै यादवले पछिल्लो समय पार्टीभित्र विकसित भएका राजनीतिक, संगठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण आफूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएको बताउनु भएको छ । पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा संगठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको उल्लेख गर्दै उहाले आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता र व्यक्तिगत विवेकलाई मध्यनजर गर्दै पदबाट अलग हुने निर्णय गरेको जानकारी दिनु भयो ।
राजीनामा पत्रमा उहाले राष्ट्रिय सचिव पदबाट साउन ११ गतेदेखि लागू हुने गरी स्वेच्छिक रूपमा पद त्याग गरेको उल्लेख गर्नु भएको छ । साथै, पार्टीमा रहँदा आफूलाई सहयोग गर्ने पार्टी नेतृत्व, सहकर्मी, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै जनमत पार्टीको भावी यात्राको सफलताको शुभकामना दिनु भएको छ ।
भोपेन्द्र प्रसाद यादव जनमत पार्टीको संगठन निर्माण र विस्तारमा सक्रिय नेताका रूपमा परिचित हुनुहुन्छ । विशेषगरी पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिमा उहाले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । त्यसैले उहाको राजीनामालाई पार्टीका लागि एउटा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
यद्यपि यादवले राजीनामासँगै आफ्नो आगामी राजनीतिक यात्राबारे कुनै स्पष्ट धारणा सार्वजनिक गनैु भएको छैन । उहा पार्टीको साधारण सदस्यसमेत रहने वा नरहने विषयमा पनि राजीनामा पत्रमा उल्लेख गर्नु भएको छैन । । यसले उहाको आगामी राजनीतिक कदमबारे विभिन्न अड्कलबाजी हुन थाले पनि त्यसबारे आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
उता, यादवको राजीनामाप्रति जनमत पार्टीको केन्द्रीय नेतृत्वले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। राजीनामा स्वीकृत भएको वा त्यसबारे पार्टीले के निर्णय गर्ने भन्ने विषयमा पनि कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। पार्टी नेतृत्वको धारणा सार्वजनिक भएपछि मात्र यस विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै पनि राजनीतिक दलका केन्द्रीय तहका पदाधिकारीको राजीनामा केवल व्यक्तिगत निर्णयमा सीमित नहुने, त्यसले संगठनभित्रको अवस्था र नेतृत्वप्रतिको सन्तुष्टि–असन्तुष्टिलाई पनि संकेत गर्ने गर्छ। यादवले राजीनामा पत्रमा उठाएका आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार र संगठनात्मक मर्यादासम्बन्धी प्रश्नले जनमत पार्टीभित्रको आन्तरिक व्यवस्थापनमाथि समेत बहस सिर्जना गर्न सक्ने देखिन्छ।
यसैबीच, यादवको राजीनामाले जनमत पार्टीको भावी संगठनात्मक रणनीति, नेतृत्व व्यवस्थापन तथा आन्तरिक एकतामा कस्तो प्रभाव पार्ने भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ। पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया र आगामी निर्णयपछि मात्रै यस घटनाको राजनीतिक प्रभावबारे थप स्पष्ट चित्र देखिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०७-२८ , समय : १३:०६:४६ , २ घन्टा अगाडि