गृहिणी सशक्तीकरणमा जोड दिँदै भैरहवामा भान्सा वास्तु तालिम सम्पन्न

रुपन्देही खबर , ६०  पटक हेरिएको

भैरहवा, साउन १६

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित ॐ महागते आध्यात्मिक प्रतिष्ठानले गृहिणीलाई लक्षित गर्दै गृहिणी तथा भान्सा वास्तु तालिम एवं खीर खाने कार्यक्रम सम्पन्न गरेको छ। साउन महिनाको धार्मिक तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै शुक्रबार आयोजित कार्यक्रममा गृहिणीहरूलाई भान्साको उचित व्यवस्थापन, वास्तुशास्त्र, सरसफाइ तथा सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्थानीय महिला, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख उमा अधिकारीले महिलाको सशक्तीकरण परिवार र समाजको समग्र विकासको आधार भएको बताउनुभयो। उहाँले परिवार सञ्चालनमा गृहिणीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई ज्ञान, सीप र सकारात्मक सोचसँग जोड्ने यस्ता कार्यक्रम समयसापेक्ष र उपयोगी रहेको उल्लेख गर्नुभयो।

उहाँले स्थानीय तहले महिला सशक्तीकरण, सीप विकास, स्वास्थ्य सचेतना तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै सामाजिक तथा आध्यात्मिक संस्थासँग सहकार्य गरेर समुदायमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। यस्ता कार्यक्रमलाई नगरपालिकाको आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष मनोज मित्तलले समाजमा आध्यात्मिक चेतनाको विकास, पारिवारिक संस्कारको संरक्षण तथा सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठानले निरन्तर सामाजिक र आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले गृहिणी परिवारको केन्द्रबिन्दु भएकाले उनीहरूलाई लक्षित कार्यक्रमले सम्पूर्ण परिवारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

“गृहिणी परिवारको आधारस्तम्भ हुन्। उनीहरूलाई ज्ञान, सीप र सकारात्मक सोचसँग जोड्न सके परिवार मात्र होइन, समाज पनि अनुशासित र संस्कारित बन्छ,” उहाँले भन्नुभयो। आगामी दिनमा महिला, युवा तथा परिवार केन्द्रित यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।

प्रतिष्ठानका अध्यक्ष विष्णु अधिकारीले संस्थाले आध्यात्मिक चेतना र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै आएको बताउनुभयो। उहाँका अनुसार भान्सा केवल खाना पकाउने स्थान मात्र नभई परिवारको स्वास्थ्य, संस्कार, समृद्धि र पारिवारिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण स्थान हो। त्यसैले गृहिणीहरूलाई भान्साको व्यवस्थापन, सरसफाइ र सकारात्मक वातावरण निर्माणबारे जानकारी गराउन तालिम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा ज्योतिष तथा वास्तु विशेषज्ञ खिला अधिकारीले गृहिणी तथा भान्सा वास्तु विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले भान्साको दिशा, सरसफाइ, सामग्रीको उचित व्यवस्थापन तथा वास्तुशास्त्रका आधारभूत सिद्धान्तबारे जानकारी गराउँदै व्यवस्थित भान्सा, स्वच्छ वातावरण र सकारात्मक सोचले परिवारको स्वास्थ्य, मानसिक शान्ति तथा पारिवारिक सद्भावमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो। उहाँले वास्तुसँगै व्यवहारिक सरसफाइ र अनुशासित जीवनशैलीलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष विष्णुमाया शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिवले गर्नुभएको थियो। तालिमपछि सहभागीहरूबीच साउन महिनाको धार्मिक परम्पराअनुसार खीर खाने कार्यक्रम आयोजना गरिएको थियो।

आयोजकका अनुसार आध्यात्मिक चेतना अभिवृद्धि, पारिवारिक संस्कारको संरक्षण, सामाजिक सद्भाव र सकारात्मक जीवनशैलीको विकास गर्ने उद्देश्यले प्रतिष्ठानले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक, सहभागितामूलक तथा समाज उपयोगी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०१ , समय : १५:३५:४५ , २ घन्टा अगाडि