रुपन्देही खबर , ४२ पटक हेरिएको
भैरहवा, साउन २३
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) ले १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ। रेडियोलोजी विभाग स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा कलेजले नयाँ सिटी स्क्यानसँगै भेन्टिलेटर सुविधासहितको एम्बुलेन्स सेवा पनि सुरु गरेको हो। नयाँ सिटी स्क्यान मेसिन र एम्बुलेन्स सेवाको शनिबार कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले औपचारिक शुभारम्भ गर्नुभएको हो।
कलेजले यसअघि सञ्चालनमा रहेको सिटी स्क्यान मेसिन विस्थापन गरी करिब ५ करोड ५० लाख रुपैयाँको लागतमा १२८ स्लाइसको नयाँ प्रविधियुक्त मेसिन जडान गरेको जनाएको छ। नयाँ मेसिनबाट कम समयमा परीक्षण सम्पन्न गरी उच्च गुणस्तरको प्रतिवेदन तयार गर्न सकिने कलेजको भनाइ छ।
नयाँ सिटी स्क्यान मेसिनमा मुटुको थ्रीडी स्क्यान गर्न सकिने सुविधा रहेको छ। त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि र स्वचालित पोजिसनिङ प्रणालीसमेत जडान गरिएको छ। यसबाट शरीरका विभिन्न अंगको विस्तृत परीक्षणका साथै मुटुसम्बन्धी जटिल अवस्थाको अध्ययन गर्न सहज हुने कलेजले जनाएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. सदन मुखीले नयाँ प्रविधिले बिरामीको परीक्षणलाई थप सहज, छिटो र प्रभावकारी बनाउने बताउनुभयो।
“नयाँ प्रविधिले कम समयमा गुणस्तरीय र भरपर्दो प्रतिवेदन तयार गर्न सहयोग पुर्याउँछ,” उहाँले भन्नुभयो, “विभिन्न अंगको विस्तृत परीक्षणसँगै मुटुसम्बन्धी जटिल अवस्थाको समेत आधुनिक प्रविधिबाट अध्ययन गर्न सकिन्छ।”
कलेजका अनुसार नयाँ सिटी स्क्यान सेवा २४ घण्टा सञ्चालन हुनेछ। यसबाट आकस्मिक अवस्थामा अस्पताल आउने बिरामीलाई आवश्यकताअनुसार तत्काल परीक्षण गर्न सहज हुनेछ।
यूसीएमएसको रेडियोलोजी विभागमा हाल एक जना प्राध्यापक, दुई जना सहप्राध्यापक, चार जना उपप्राध्यापक, १५ जना प्राविधिक, दुई जना नर्सिङ कर्मचारी र तीन जना सहयोगीसहित २७ जना जनशक्ति कार्यरत छन्।
भेन्टिलेटरसहित एम्बुलेन्स सेवा
कलेजले सिटी स्क्यान सेवासँगै करिब ३३ लाख रुपैयाँको लागतमा खरिद गरिएको भेन्टिलेटर सुविधासहितको नयाँ एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ। नयाँ एम्बुलेन्सबाट गम्भीर अवस्थाका बिरामीलाई अस्पताल ल्याउन तथा आवश्यक परे अन्य स्वास्थ्य संस्थामा लैजान सेवा उपलब्ध गराइने कलेजले जनाएको छ। एम्बुलेन्स सेवा पनि २४ घण्टा सञ्चालन हुने प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो।

उहाँका अनुसार बिरामीलाई सरल, सहज र सुलभ दरमा सेवा उपलब्ध गराउने कलेजको योजना छ। नेपाल सरकारबाट उपलब्ध हुने छुट सुविधालाई समेत समेटेर एम्बुलेन्स सेवा प्रदान गरिने उहाँले बताउनुभयो।
“बिरामीलाई अस्पतालसम्म ल्याउन र आवश्यक परे अन्य स्वास्थ्य संस्थामा लैजान सहज होस् भन्ने उद्देश्यले भेन्टिलेटरसहितको एम्बुलेन्स थप गरेका हौं,” अर्यालले भन्नुभयो।
रेडियोलोजी सेवामा प्रविधि थप्दै यूसीएमएस
२०५४ सालमा स्थापना भएको यूसीएमएसले पछिल्लो समय स्वास्थ्य सेवामा आधुनिक प्रविधि र उपकरण थप गर्दै आएको जनाएको छ। रेडियोलोजी विभाग स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा अत्याधुनिक सिटी स्क्यान र एम्बुलेन्स सेवा थप गरिएको कलेजको भनाइ छ।
नयाँ सिटी स्क्यान सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई उच्च प्रविधिको परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम हुने कलेजले अपेक्षा गरेको छ। विशेषगरी मुटु तथा अन्य जटिल रोगको परीक्षणका लागि अत्याधुनिक उपकरण आवश्यक पर्ने भएकाले नयाँ प्रविधिले रोग पहिचान तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कलेजको दाबी छ।
कलेजले नयाँ उपकरणबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बिरामीलाई सहज र सुलभ दरमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। २४ घण्टा सेवा सञ्चालन हुने भएकाले आकस्मिक अवस्थामा आउने बिरामीले समेत प्रत्यक्ष लाभ लिन सक्ने कलेजको अपेक्षा छ।
आगामी दिनमा बिरामीको आवश्यकता र स्वास्थ्य क्षेत्रमा विकसित हुँदै गएको प्रविधिअनुसार सेवा तथा उपकरण थप गर्दै जाने कलेजले जनाएको छ। नयाँ सेवा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको सञ्चालन कलेजका सूचना अधिकारी सुशील गुरुङले गर्नुभएको थियो।
प्रकाशित मिति: २०२६-०८-०८ , समय : २०:५८:५४ , २ घन्टा अगाडि