उर्मिला यादव , ४७ पटक हेरिएको
भैरहवा, साउन २४
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवीले एक दिने मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा आकार पब्लिकेशनको समन्वयमा शनिबार भैरहवामा तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले शिक्षक–शिक्षिकाको शैक्षिक क्षमता अभिवृद्धि गर्दै बालकेन्द्रित, प्रभावकारी र गुणस्तरीय शिक्षण विधिमा दक्ष बनाउन तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले बालबालिकाको शैक्षिक विकासका लागि शिक्षकले परम्परागत शिक्षण शैलीभन्दा व्यवहारिक तथा बालमैत्री विधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । बालमैत्री, सुरक्षित र सिकाइ केन्द्रित कक्षाकोठाको वातावरण निर्माण गर्न तथा शिक्षकको अध्यापन शैलीमा सुधार ल्याउन तालिम उपयोगी हुने उहाँको भनाइ थियो ।
“शिक्षकले प्रयोग गर्ने शिक्षण विधिले बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले कक्षाकोठालाई बालमैत्री र सिकाइ केन्द्रित बनाउन शिक्षकको क्षमता अभिवृद्धि आवश्यक छ,” अध्यक्ष यादवले बताउनुभयो।

यस्तै गरी प्याब्सन जिल्ला कार्यसमिति सदस्य बसन्त पाण्डेले प्याब्सनले हरेक वर्ष मन्टेश्वरीसम्बन्धी तालिम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले जिल्ला तहको तुलनामा मायादेवी प्याब्सनले शिक्षकको क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि थप अग्रसर भएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जोड दिनु भयो ।
मन्टेश्वरी तालिम लिएका शिक्षकले अमूल्य ज्ञान र सीप प्राप्त गर्ने बताउँदै पाण्डेले तालिमलाई अवसरको ढोकाका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो । तालिमबाट प्राप्त सीपलाई कक्षाकोठामा व्यवहारमा उतार्न सके मात्रै यसको वास्तविक उपलब्धि हासिल हुने उहाँको भनाइ थियो ।
यस्तै गरी प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार लक्ष्मीप्रसाद भुषालले तालिमले शिक्षकलाई कक्षाकोठा व्यवस्थापनदेखि बालबालिकासँगको व्यवहारसम्मका विभिन्न पक्षमा उपयोगी ज्ञान प्रदान गरेको बताउनुभयो । उहाँले शिक्षकले लेख्ने अक्षर, त्यसमा सुधार गर्नुपर्ने तरिका, विद्यार्थीलाई रमाइलो वातावरणमा सिकाउने शैली तथा कक्षाकोठा व्यवस्थापनजस्ता विषयलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको छ ।

तालिममा सिकाइएका विषय कक्षाकोठामा कत्तिको प्रभावकारी रूपमा प्रयोग भए भन्ने विषयमा अनुगमन तथा मूल्याङ्कन आवश्यक रहेको उहाँले बताउनुभयो। करिब पाँच महिनापछि शिक्षकले तालिममा सिकेका विषयलाई व्यवहारमा उतारे वा नउतारेको मूल्याङ्कनबाट थाहा पाउन सकिने उहाँको भनाइ छ ।

यस्तै गरी, प्याब्सन मायादेवीका पूर्व कार्यसमिति सदस्य रामप्रसाद लोधले मायादेवी प्याब्सनले विगतदेखि नै शिक्षकको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले शिक्षकको क्षमता विकासमा मायादेवी प्याब्सनले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
बालबालिकाको आवश्यकता र सिकाइ क्षमतालाई केन्द्रमा राखेर गरिने शिक्षण विधि व्यवहारिक र दीगो हुने बताउँदै लोधले बालमैत्री विधिको प्रयोगले शिक्षण सिकाइ प्रक्रिया थप उपलब्धिमूलक बन्ने धारणा राख्नुभयो ।
तालिमको सहजीकरण गर्दै प्रशिक्षक सोनी पौडेल तामाङले बालबालिकाको व्यक्तित्व तथा सिकाइको जग निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकमा रहेको बताउनुभयो । बालबालिकाको सिकाइ उपलब्धिमा शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले शिक्षकले योजनाबिना गुणस्तरीय शिक्षण गर्न कठिन हुने धारणा राख्नुभयो।
उहाँले शिक्षकले कक्षाकोठामा प्रवेश गर्नुअघि नै पाठयोजना तयार गर्ने, आवश्यक तयारी गर्ने र उपयुक्त शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण अघि बढाउनुपर्ने बताउनुभयो । योजनाबद्ध र तयारीसहितको शिक्षणले कक्षाकोठामा अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न सहज हुने उहाँको भनाइ थियो।
शिक्षक आफैंले पनि निरन्तर स्वअध्ययन गर्नुपर्नेमा जोड दिँदै पौडेलले शिक्षक खुसी र सकारात्मक भएर बालबालिकालाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री वातावरण निर्माण, कक्षाकोठा व्यवस्थापन तथा विद्यार्थीको रुचि र आवश्यकताअनुसार शिक्षण विधि अपनाउन शिक्षकलाई आग्रह गर्नुभयो।
तालिममा सहभागी शिक्षक प्रगति आनन्दले तालिम शिक्षकका लागि अत्यन्त उपयोगी भएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफूले कक्षाकोठामा व्यवहारमा लागू गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
तालिममा बालबालिकाको उमेर, रुचि र सिकाइ क्षमताअनुसार शिक्षण गर्ने तरिका, पाठयोजना निर्माण, शैक्षिक सामग्रीको प्रयोग, बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा शिक्षकको अध्यापन शैलीमा सुधार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । भने कार्यक्रमको सञ्चालन प्याब्सन मायादेवीका सचिव बृजुनाथ सिंहले गर्नुभएको थियो । प्याब्सन मायादेवीले शिक्षकको पेशागत क्षमता अभिवृद्धिसँगै बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: २०२६-०८-०९ , समय : ०८:१८:२७ , २ घन्टा अगाडि