रुपन्देही खबर , ४५ पटक हेरिएको
भैरहवा, साउन २७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएकाे छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएकाे हाे । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठकको तयारी गर्न अनुरोध गरिसकेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिनुभयाे ।
एमाले र नेकपाबिच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ।
नयाँ सत्ता समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषयमा भने अन्तिम सहमति जुट्न बाँकी छ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन्। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सरकारमा छन्। ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत पुर्याउन थप दलको समर्थन आवश्यक पर्छ ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : २१:०१:५८ , २ घन्टा अगाडि