धार्मिकस्थलको सरसफाइमा युवा समाजसेवीको उदाहरणीय पहल

रुपन्देही खबर , ५३  पटक हेरिएको

भैरहवा, साउन ३०

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, सुगरमिलस्थित ऐतिहासिक दुर्गा मन्दिरमा लामो समयदेखि हुन नसकेको सरसफाइलाई मध्यनजर गर्दै युवा समाजसेवी सिद्धार्थनगर–४ को आयोजनामा शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको छ । मन्दिर परिसर तथा आसपासको क्षेत्रमा फोहोर बढ्दै गएपछि धार्मिकस्थलको स्वच्छता र वातावरण सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाका संरक्षक गोबिन्द यादवले जानकारी दिनु भयो ।

उहाले लामो समयदेखि मन्दिरमा नियमित सरसफाइ हुन नसकेको जानकारी पाएपछि अभियान आयोजना गरिएको बताउनुभयो । संरक्षक यादवले धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै अभियानमा सहभागी तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। यादवले युवा समाजसेवीले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि समाजमा जनचेतनामूलक तथा उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै गरी युवा समाजसेवीका सल्लाहकार तथा कार्यक्रम संयोजक अर्जुन पाठकले मन्दिर वरपर लामो समयदेखि फोहोर देखिएपछि संस्थासँग सरसफाइ अभियान सञ्चालनका लागि प्रस्ताव गरिएको बताउनुभयो। उहाँका अनुसार प्रस्तावपछि संस्थाका पदाधिकारी तथा सदस्यहरू अभियानमा सक्रिय भएका थिए ।

पाठकले दुर्गा मन्दिर करिब ३६ वर्ष पुरानो र धार्मिक तथा ऐतिहासिक महत्व बोकेको स्थल भएको बताउनुभयो । मन्दिरमा विभिन्न स्थानबाट श्रद्धालु भक्तजन आउने भएकाले यसको सरसफाइ र संरक्षणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । मन्दिरको व्यवस्थापन तथा अन्य सामाजिक कार्यमा आफ्नो टिमले विगतदेखि सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

यस्तै गरी सिद्धार्थनगर–४ का स्थानीय अर्जुन प्रसाद जैसवालले युवा समाजसेवीले सञ्चालन गरेको अभियान सामाजिक दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरसफाइले वातावरण तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै समाजलाई पनि व्यवस्थित र जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुभयो । धार्मिकस्थलको सरसफाइमा स्थानीयको समेत नियमित सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।

यस्तै गरी संस्थाका सल्लाहकार विजय जैसवालले आफ्नै टोलछिमेकमा रहेको धार्मिकस्थल सफा राख्नु स्थानीयवासीको पनि जिम्मेवारी भएको बताउनुभयो । उहाँले सरसफाइलाई एक दिनको अभियानमा सीमित नराखी नियमित रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। टोलछिमेकका बासिन्दालाई समेत अभियानमा सहभागी गराएर आगामी दिनमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।


यस्तै गरी युवा समाजसेवीका अध्यक्ष रोशन थापाले अभियान तत्काल योजना बनाएर सञ्चालन गरिएको बताउनुभयो। संस्थाले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उहाँले सिद्धार्थनगर–४ का युवालाई सामाजिक अभियानमा जोडिन आग्रह गर्नुभयो।

यस्तै गरी स्थानीय उमाशंकरले लामो समयदेखि मन्दिरको सरसफाइ हुन नसकेको अवस्थामा युवा समाजसेवीले अभियान सञ्चालन गर्नु सकारात्मक भएको बताउनुभयो। उहाँले संस्थाले समाजमा गर्दै आएका सामाजिक गतिविधिले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

मन्दिरका पुजारी रविन्द्रनाथ मिश्रका अनुसार दुर्गा मन्दिर २०२४ सालमा निर्माण भएको हो भने २०२६ सालदेखि यहाँ नियमित पूजाआजा हुँदै आएको छ । मिश्रले आफूले ३० वर्षभन्दा पहिलेदेखि मन्दिरको रेखदेख गर्दै आएको बताउनुभयो । उहाँका अनुसार मन्दिरमा १८ भुजा भएको दुर्गा माताको मूर्ति रहेको छ । यस्तो मूर्ति रुपन्देही जिल्लामा अन्यत्र नरहेको उहाँको दाबी छ ।

मन्दिरमा पूजाआजा तथा दर्शनका लागि आउने श्रद्धालुहरूले विभिन्न मनोकामना पूरा हुने धार्मिक विश्वास राख्ने गरेको पुजारी मिश्रले बताउनुभयो । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिरको संरक्षण तथा सरसफाइमा सम्बन्धित पक्ष र स्थानीय समुदायको निरन्तर सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

युवा समाजसेवीका अध्यक्ष रोशन थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता थियो। सहभागीहरूले मन्दिर परिसर, वरपरको क्षेत्र तथा सार्वजनिक स्थानमा रहेका फोहोर संकलन गरी सरसफाइ गरेका थिए। अभियानपछि मन्दिर परिसरलाई थप सफा र व्यवस्थित बनाइएको आयोजकको भनाइ छ ।

कार्यक्रमका क्रममा युवा समाजसेवीका अध्यक्ष रोशन थापा र संस्थाका संरक्षक गोविन्द यादवले संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक अर्जुन पाठक र समाजसेवी अर्जुनप्रसाद जैसवाललाई संस्थाको टिसर्टसमेत प्रदान गर्नुभएको थियो।आयोजकले धार्मिकस्थलसँगै टोल तथा सार्वजनिक क्षेत्रमा सरसफाइ र सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रकाशित मिति: २०२६-०८-१६ , समय : ००:२५:१७ , २ घन्टा अगाडि