प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्डमा उत्कृष्ट अभिकर्ता सम्मानित

रुपन्देही खबर , ४२  पटक हेरिएको

काठमाडौं, भदौ ८

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरेको छ। कम्पनीले अभिकर्ताको उच्च तह ‘चेयरम्यान क्लब’ तथा दोस्रो उच्च तह ‘सीईओ क्लब’ अन्तर्गतका अभिकर्तालाई सम्मान गर्न पोखरामा चारदिने ‘क्लब एचिभर्स अवार्ड’ कार्यक्रम आयोजना गरेको हो।

भदौ ४ देखि ७ गतेसम्म पर्यटकीय सहर पोखरामा सञ्चालन भएको कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई अवार्डसहित सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन कम्पनी सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्यालले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले अभिकर्ता पेसालाई मर्यादित र सम्मानित पेसाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।

उत्कृष्ट व्यवसाय गर्दै अवार्ड प्राप्त गर्ने अभिकर्तालाई कम्पनीले गरेको सम्मानले आगामी दिनमा थप उत्साह र हौसला प्रदान गर्ने उहाँको भनाइ थियो। अभिकर्ताको व्यावसायिक यात्रामा कम्पनीको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि अध्यक्ष अर्यालले व्यक्त गर्नुभयो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताउनुभयो। अभिकर्ताहरूको सफलतालाई कम्पनीले उत्सवका रूपमा मनाउन पाउनु गौरवको विषय भएको उहाँको भनाइ थियो। “टिम वर्कले नै सफलता सम्भव हुने भएकाले यसमा काम गरी अगाडि बढ्दा आगामी वर्ष अझ ठूला सफलता हात पर्ने विश्वास छ,” सीईओ प्रसाईंले भन्नुभयो। कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणले अभिकर्ताहरूको सोच, कार्यशैली र व्यावसायिक क्षमतालाई थप प्रभावकारी बनाउन ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेकाले उनीहरूको क्षमता विकास र मनोबल अभिवृद्धिलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लब एचिभर्स अवार्ड पनि उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली चलचित्रका अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति रहेको थियो। अभिनेता खड्काले आफ्नो संघर्ष र सफलताको यात्राबारे सहभागीलाई जानकारी गराउँदै व्यावसायिक जीवनमा निरन्तरता, मेहनत र आत्मविश्वासको महत्वबारे प्रेरणादायी प्रस्तुति दिनुभएको थियो।

चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा सम्मानसँगै प्रशिक्षण, अनुभव आदानप्रदान, मनोरञ्जन तथा रिफ्रेसमेन्टका कार्यक्रमसमेत समेटिएका थिए। कम्पनीले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दा उनीहरूमा थप व्यावसायिक उत्साह बढ्ने अपेक्षा गरेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताको व्यावसायिक क्षमता विकास, उत्प्रेरणा तथा योगदानको सम्मानका लागि नियमित रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ताको क्षमता अभिवृद्धि र उत्कृष्ट व्यवसायलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कम्पनीका अनुसार यसपटकको क्लब एचिभर्स अवार्डमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गरेका अभिकर्तालाई कम्पनीको उच्च तह ‘चेयरम्यान क्लब’ तथा ‘सीईओ क्लब’ अवार्डबाट विशेष सम्मान गरिएको हो। कार्यक्रममा प्राप्त सम्मानले अभिकर्तालाई आगामी व्यवसाय विस्तारका लागि थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : ११:४२:५५ , २ घन्टा अगाडि