कोटहीमाईका १२० विद्यार्थी सम्मानित, उत्कृष्ट चार जनालाई साइकल प्रदान

रुपन्देही खबर , ७६  पटक हेरिएको

मर्चवार, भदौ ८

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कक्षा १२ उत्तीर्ण तथा उत्कृष्ट नतिजा हासिल गर्ने १२० जना विद्यार्थी सम्मानित भएका छन्। कोटहीमाई गाउँपालिका–६ का युवा नेता तथा समाजसेवी राहुल यादवको आयोजनामा शनिबार कोटहीमाई–५, मझगावामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उत्कृष्ट चार विद्यार्थीलाई साइकल र अन्य विद्यार्थीलाई कदरपत्र प्रदान गरिएको हो।

कोटहीमाई गाउँपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक यादवले बताउनुभयो। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई थप अध्ययनका लागि प्रेरित गर्नुका साथै अन्य विद्यार्थीलाई पनि शिक्षाप्रति उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँको भनाइ छ।

कार्यक्रममा श्री मर्यादपुर माध्यमिक विद्यालयबाट ३.७ जीपीए प्राप्त गर्ने सीता कुमारी पाल, श्रीराम माध्यमिक विद्यालयबाट ३.११ जीपीए प्राप्त गर्ने साधना यादव, मर्चवार आदर्श माध्यमिक विद्यालयबाट ३.२६ जीपीए प्राप्त गर्ने गुडिया गुप्ता बनिया र श्री बोगडी माध्यमिक विद्यालयबाट २.९४ जीपीए प्राप्त गर्ने अशोक कुमार यादवलाई साइकल प्रदान गरिएको थियो। गाउँपालिकाभित्रबाट कक्षा १२ उत्तीर्ण गरेका अन्य विद्यार्थीलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

‘विद्यार्थीको भविष्य बने मात्र मर्चवारको भविष्य बन्छ’

कार्यक्रममा बोल्दै आयोजक राहुल यादवले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरहेको बताउनुभयो। विद्यार्थीले हासिल गरेको सफलतामा परिवार, विद्यालय, शिक्षक र समुदायको समेत योगदान रहने उल्लेख गर्दै उहाँले विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो।

“आज सम्मानित हुने विद्यार्थी नै मर्चवारको भविष्य हुन्,” यादवले भन्नुभयो, “वर्तमानलाई राम्रो बनाएर अघि बढ्न विद्यार्थीले मेहनत, लगनशीलता र निरन्तरतालाई प्राथमिकता दिनुपर्छ।”

मर्चवारको समग्र विकासका लागि सबैभन्दा पहिले यहाँका बालबालिका शिक्षित हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षित नागरिक, सक्षम युवा र गुणस्तरीय शिक्षाबाट मात्रै समृद्ध मर्चवार निर्माण गर्न सकिने बताउनुभयो।

यादवले आफू लामो समयदेखि शिक्षण पेसा तथा विद्यार्थी क्षेत्रमा आबद्ध रहेकाले विद्यार्थीका समस्या, पीडा र आवश्यकतासँग नजिकबाट परिचित रहेको बताउनुभयो। विद्यार्थीलाई सम्मानस्वरूप साइकल प्रदान गरिएको भए पनि आगामी दिनमा सम्बन्धित स्थानमा पुगेर विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा कोटहीमाईमा मात्र सीमित नरही समग्र मर्चवार क्षेत्रका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई समेटेर सम्मान कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभयो। साथै, आफ्नो १४ वर्ष लामो शैक्षिक यात्रालाई विराम दिँदै अब समाजसेवा र राजनीतिमा सक्रिय हुने बताउँदै मर्चवारको शिक्षा, विकास र विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

‘राहुललाई अध्यक्षको उम्मेदवार बनाउन सकिन्छ’

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका अध्यक्ष सियाराम यादवले राहुल यादवले शिक्षा क्षेत्रमा गरेको पहलको प्रशंसा गर्नुभयो। उहाँले कोटहीमाई गाउँपालिकाको विकास र समृद्धिका लागि यादवको सक्रियता सकारात्मक रहेको बताउँदै आगामी निर्वाचनमा पार्टीको तर्फबाट उहाँलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

“कोटहीमाई गाउँपालिकालाई राम्रो बनाउने अभियानमा आगामी निर्वाचनमा पार्टीको तर्फबाट उहाँलाई अध्यक्षको उम्मेदवार बनाउन सकिनेछ,” सियाराम यादवले भन्नुभयो, “पालिकाबासीका हरेक पीडा र समस्यामा राहुल यादव जनताकै बीचमा देखिनुभएको छ।”

उहाँले विकासको स्पष्ट सोच र नीति भएका व्यक्तिलाई स्थानीय तह सञ्चालनमा अवसर दिनुपर्ने धारणा राख्दै सम्मानित विद्यार्थीलाई आगामी अध्ययनका लागि शुभकामना दिनुभयो।

शिक्षामा लगानी बढाउनुपर्नेमा जोड

कार्यक्रममा ब्राइट स्टार इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुल, सिद्धार्थनगर–१ का प्रबन्धक अमित यादवले विद्यार्थी प्रोत्साहनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कक्षा १२ उत्तीर्ण विद्यार्थीले आगामी दिनमा उत्कृष्ट नतिजा हासिल गरे ल्यापटप प्रदान गर्ने घोषणा गर्नुभयो। “यो केवल बाचा होइन, विद्यार्थीप्रतिको विश्वास हो,” अमित यादवले भन्नुभयो। उहाँले मर्चवारको विकासका लागि शिक्षा, सीप र रोजगारीलाई केन्द्रमा राखेर नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

मर्यादपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयानाथ यादवले कक्षा १२ उत्तीर्ण विद्यार्थीको शैक्षिक उपलब्धिलाई स्थानीय तह र जनप्रतिनिधिले समेत प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। विद्यार्थीको मेहनत र सफलताको सम्मान गर्ने जिम्मेवारी स्थानीय सरकारको समेत भए पनि त्यसतर्फ पर्याप्त ध्यान पुग्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।

समाजसेवी राहुल यादवले व्यक्तिगत पहलमा विद्यार्थीलाई सम्मान गरेर उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएका यादवले यस्तो कार्यक्रमले विद्यार्थीमा ऊर्जा, आत्मविश्वास र आगामी अध्ययनमा राम्रो गर्ने प्रेरणा दिएको बताउनुभयो। “राहुल यादवले समाजका लागि परिवर्तनको संवाहक बन्ने सोच र नीति बोकेर अघि बढ्नुभएको छ। उहाँमा भएको ऊर्जा र क्षमता हामीले देखिरहेका छौँ,” उहाँले भन्नुभयो।

सूर्यदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत गिरीले विद्यार्थीले गरेको अथक मेहनत र अभिभावकले गरेको लगानीबाट प्राप्त शैक्षिक उपलब्धिको सम्मान गर्नु सकारात्मक भएको बताउनुभयो। कुनै सार्वजनिक पदमा नरहे पनि राहुल यादवले विद्यार्थीलाई सम्मान गर्न गरेको पहलले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो।

उहाँले जनताले अब परम्परागत भाषणभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र विकासमा परिणाम खोजिरहेको बताउनुभयो। “हामी युवाहरूले अब भाषण होइन, राम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र विकास चाहेका छौँ,” गिरीले भन्नुभयो।

शिक्षकको दृष्टिकोणबाट शिक्षा क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउँदै उहाँले बालबालिकाले गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्न स्थानीय तह, जनप्रतिनिधि, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

शिक्षित युवा नै मर्चवारको विकासको आधार

ठर्की माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा वरिष्ठ शिक्षक बलिराम यादवले विद्यार्थीको शैक्षिक उपलब्धिको सम्मान गर्दै उनीहरूको मनोबल बढाउने काम भएको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन यस्ता प्रोत्साहनात्मक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।

नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र गौडले मर्चवारको विकासको पहिलो आधार शिक्षा भएको बताउनुभयो। उहाँले रोजगारी, शिक्षा र अवसरका लागि युवाहरू बाहिरिनुपर्ने अवस्था अन्त्य गर्न स्थानीयस्तरमै गुणस्तरीय शिक्षा र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। “मर्चवारको विकासका लागि योग्य, शिक्षित र समाजसँग जोडिएको नेतृत्व आवश्यक छ,” गौडले भन्नुभयो, “विद्यार्थीको शिक्षा र भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने युवाहरू नेतृत्वमा आउन आवश्यक छ।”

उहाँले शिक्षा क्षेत्रमा लगानी बढाउँदै विद्यार्थीलाई उच्च शिक्षा, प्राविधिक शिक्षा, सीप तथा रोजगारीसँग जोड्ने वातावरण बनाउन स्थानीय तह, जनप्रतिनिधि, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

युवा समाजसेवी सन्दीप चौधरीले मर्चवारमा विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम हुँदै आए पनि विद्यार्थीको शैक्षिक उपलब्धिलाई लक्षित गरी राहुल यादवको आयोजनामा दोस्रोपटक सम्मान कार्यक्रम गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको मेहनत र उपलब्धिको सम्मान गर्ने कार्य उदाहरणीय भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। कक्षा १२ उत्तीर्ण गर्नु विद्यार्थीको भविष्यको अन्त्य नभई नयाँ यात्राको सुरुवात भएको उल्लेख गर्दै चौधरीले उच्च शिक्षा तथा लक्ष्य प्राप्तिका लागि विद्यार्थीलाई अझ बढी लगनशील, अनुशासित र मेहनती भएर अघि बढ्न आग्रह गर्नुभयो।

उच्च शिक्षापछि रोजगारीसँग जोड्नुपर्ने सुझाव

कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएको बताएका थिए। ग्रामीण तथा सीमावर्ती क्षेत्रका विद्यार्थीले कक्षा १२ पछि अध्ययनलाई निरन्तरता दिँदा आर्थिक समस्या, उच्च शिक्षाका सीमित अवसर तथा आवश्यक मार्गदर्शनको अभावजस्ता चुनौती सामना गर्नुपर्ने भएकाले विद्यालय, अभिभावक, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।

वक्ताहरूले उच्च शिक्षा मात्र नभई प्राविधिक तथा सीपमूलक शिक्षाका अवसर स्थानीयस्तरमै विस्तार गर्न सके विद्यार्थीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्न सकिनेमा जोड  दिएका छन । मर्चवारका विद्यार्थीलाई शिक्षा, सीप र रोजगारीका अवसरसँग जोड्न सके क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुग्ने उनीहरूको भनाइ थियो।

एभरग्रीन प्यासिफिक इङ्गलिस हाइस्कुलका प्रिन्सिपल प्रमोद यादवको स्वागत मन्तव्य रहेको कार्यक्रममा मर्यादपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकेश यादव, समाजसेवी रामअवतार यादव, रामशरण यादव, रामप्रसाद यादव, पवन यादव र कृष्ण पन्तलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उहाँहरूले स्थानीयस्तरमा हुने यस्ता प्रोत्साहनात्मक कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै शिक्षाप्रति रुचि बढाउन सहयोग पुग्ने बताउनुभयो। ग्रामीण तथा सीमावर्ती क्षेत्रका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन आर्थिक, सामाजिक र शैक्षिक सहयोग आवश्यक रहेकोमा पनि उहाँहरूले जोड दिनुभयो।

साइकल प्राप्त गर्ने विद्यार्थीहरूले सम्मानले आफ्नो मेहनतको कदर भएको महसुस भएको बताएका छन्। उनीहरूले आगामी अध्ययनमा अझ राम्रो नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा विभिन्न ओहदामा रहेका शिक्षक तथा समाजसेवीलाई दोसल्लासहित कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। युवा नेता तथा समाजसेवी राहुल यादवको अध्यक्षता तथा मुकेश यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, विद्यार्थी तथा स्थानीयको सहभागिता थियो।

प्रकाशित मिति: २०२६-०८-२४ , समय : २१:००:०४ , ३ घन्टा अगाडि