रुपन्देही खबर , ५९ पटक हेरिएको
परासी, भदौ १३
नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीको १० औँ जिल्ला अधिवेशन शनिबार परासीस्थित नेपाल पत्रकार महासंघ नवलपरासीको सभाहलमा जारी छ।
नेपाल प्रेस युनियन नवलपरासीका अध्यक्ष उमेश विकको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सुरु भएको हो ।
अधिवेशनमा बोल्दै प्रमुख अतिथि भण्डारीले पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले बदलिँदो सञ्चार क्षेत्र र प्रविधिको विकाससँगै पत्रकारितालाई थप जिम्मेवार, व्यावसायिक र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य रविन शर्मा चापागाईंले युनियनका गतिविधि र कार्यसम्पादनबारे आत्मसमीक्षा गर्दै संगठन कहाँ चुकेको छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले संगठनलाई थप प्रभावकारी बनाउन सदस्यहरूको सुझाव र आलोचनालाई समेत आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष विकास अधिकारीले पत्रकारिता क्षेत्र जटिल अवस्थामा रहेको उल्लेख गर्दै पत्रकारहरू थप जिम्मेवार भएर आफ्नो पेशागत दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरि शर्माले पत्रकारिताको व्यावसायिकता, पत्रकारको भूमिका तथा वर्तमान अवस्थामा सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौतीबारे धारणा राख्नुभयो। उहाँले पत्रकारिताको मूल्यमान्यता र पेशागत मर्यादालाई कायम राख्दै अघि बढ्नुपर्ने बताउनुभयो।
नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रम यादवले पत्रकारहरू एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले प्रेस युनियनसँग सहकार्य गर्दै पत्रकारिताको विकास र पत्रकारहरूको हकहितका लागि साथमा साथ र काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रेस युनियन नवलपरासीका उपाध्यक्ष सञ्जीव कोइरालाले स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वअध्यक्ष टीकाराम गैरे, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष आरपी उपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। भने कार्यक्रम सञ्चालन युनियनका सचिव अनिल यादवले गर्नुभएको थियो। यस्तै गरी नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीको १० औं अधिवेशनमा अन्य सबै पदहरुसर्व सम्मत चयन भए पनि अध्यक्ष पदमा भने २ जनाको उम्मेदवारी परेकोले आज निर्वाचन प्रक्रिया सम्पन्न गरि नया कार्यसमिति गठन गरिने निर्वाचन अधिकृत प्रकाश न्यौपानेले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२६-०८-२९ , समय : १७:०२:१६ , १ घन्टा अगाडि