बाढीपीडित अभिभावकविहीन बालबालिकाको शिक्षा र हेरचाह गर्ने नवदुर्गा माविको घोषणा

उर्मिला यादव , ६८४  पटक हेरिएको

भैरहवा, भदौ १८

भदौ १० गते आएको बाढीबाट अभिभावकविहीन तथा प्रभावित बनेका बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले रुपन्देहीको श्री नवदुर्गा माध्यमिक विद्यालयले ५० जना बालबालिकाको पठनपाठन तथा हेरचाहको जिम्मेवारी लिने घोषणा गरेको छ । विद्यालय व्यवस्थापन समितिको बैठकले बाढीका कारण अभिभावक गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका बालबालिकालाई विद्यालयमा ल्याई अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले बाढीमा आमाबुबासहित परिवारका सदस्य गुमाएका बालबालिकालाई विद्यालयले संरक्षणसहित शिक्षाको अवसर प्रदान गर्ने बताउनु भयो ।

यादवका अनुसार विद्यालयले ती बालबालिकाको पठनपाठनसँगै आवास, खानपान लगायत आवश्यक व्यवस्थापनको जिम्मेवारी समेत लिन तयार भएको छ । सरकारले समन्वय तथा जिम्मेवारी दिएमा विद्यालयले उक्त कार्य प्रभावकारी रूपमा अघि बढाउने उहाले बताउनु भयो ।

‘बालबालिकाको पढाइमा कुनै असर नपर्ने गरी आफ्नै विद्यार्थीसरह राखेर अध्ययनको वातावरण बनाउनेछौँ,’ यादवले भन्नु भयो , ‘हाम्रो सानो प्रयासले उनीहरूको भविष्य बनाउन सहयोग पुग्छ भने विद्यालयको सम्पूर्ण टिम त्यसका लागि तयार छ ।’

उहाले केही दिनभित्र बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने तयारी समेत गरेको बताउदै सोही क्रममा सम्बन्धित निकायसँग समन्वय गरी अभिभावकविहीन तथा संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान गरी विद्यालयमा ल्याउने पहल गरिने अध्यक्ष यादवले बताउनु भयो ।

यस्तै गरी विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार गौडले व्यवस्थापन समितिको निर्णयप्रति शिक्षकहरूको पूर्ण ऐक्यबद्धता रहेको बताउनु भयो । विपद्को समयमा अभिभावक गुमाएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन विद्यालयले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने उहाले प्रतिबद्धता गर्नु भयो ।

 

यस्तै गरी नवदुर्गा माध्यमिक विद्यालयकी शिक्षिका रिंकी यादवले अभिभावकविहीन बालबालिकालाई अन्य विद्यार्थीसरह समान व्यवहार गर्दै सुरक्षित र आत्मीय वातावरणमा अध्ययन गराउने बताउनु भयो । विपद्मा परेका बालबालिकाको पढाइसँगै उनीहरूको मानसिक तथा भावनात्मक अवस्थालाई समेत ध्यान दिनुपर्ने बताउँदै उहाले विद्यालयको अभियानमा सम्बन्धित निकाय, अभिभावक र समुदायको सहयोग आवश्यक रहेको बताउनु भयो ।

यस्तै, शिक्षिका बिनिता कार्कीले अभिभावक गुमाएका बालबालिकालाई खाना, आवास, स्वास्थ्य, सरसफाइलगायत आवश्यक सेवा–सुविधासहित विद्यालयले संरक्षण र हेरचाह गर्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बालबालिकाको शिक्षासँगै उनीहरूको समग्र हेरचाहमा विद्यालयको सम्पूर्ण टिम प्रतिबद्ध रहेको उहाले बताउनु भयो ।

यस्तै गरी युवा समाजसेवी सिद्धार्थनगर–४ का अध्यक्ष रोशनबहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवको पहल उदाहरणीय रहेको भन्दै आफ्नो नेतृत्वको युवा समाजसेवी समूहले पनि सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो । उहाले बाढीपीडितका लागि राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने तयारी भइरहेको जानकारी दिँदै बालबालिकाको शिक्षाका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।

यस्तै गरी विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमकुमार प्रजापतिले विपद्का कारण अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा र संरक्षणका लागि विद्यालयले गरेको निर्णय समाजका लागि उदाहरणीय भएको बताउनु भयो । उहाले आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै गरी अभिभावक संघका सदस्य मोहम्मद आलम अन्सारीले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षा, आवास र हेरचाहको जिम्मेवारी लिन विद्यालयले गरेको निर्णयमा संघको पूर्ण समर्थन रहेको बताउनु भयो । विद्यालयमा आफ्नै होस्टेल रहेकाले सरकारी निकायसँग आवश्यक समन्वय गरी बालबालिकालाई सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउन सकिने उहाको भनाइ छ।

यस्तैगरी अभिभावक अमिर खानले पनि विद्यालयको निर्णय सकारात्मक रहेको बताउँदै सरकारले आवश्यक अनुमति तथा समन्वय गरेमा बालबालिकाको व्यवस्थापनमा अभिभावकहरूबाट समेत सहयोग हुने बताउनु भयो ।

यस्तै गरी विद्यालयका कक्षा १० का विद्यार्थी शिवम यादवले बाढीका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकालाई आफ्नै कक्षाका साथीसरह स्वागत गर्न आफूहरू तयार रहेको बताउनु भयो । उनीहरूलाई किताब, कापी तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराउँदै सँगै अध्ययन गर्ने वातावरण बनाउन विद्यार्थीहरू इच्छुक रहेको उहाले बताउनु भयो ।

यस्तै गरी कक्षा १० कै विद्यार्थी करण सहानीले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय सही र आवश्यक भएको बताउनु भयो । विपद्का कारण शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याएर नियमित अध्ययनको अवसर दिनुपर्ने उहाको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अनुसार पहिलो चरणमा ५० जना बालबालिकालाई विद्यालयमा नियमित अध्ययन गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसका लागि सम्बन्धित स्थानीय तह, सरकारी निकाय तथा सरोकारवालासँग समन्वय गरिने विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: २०२६-०९-०३ , समय : २०:३५:२७ , ३ दिन अगाडि