तुलसीराम पौडेल , ९ पटक हेरिएको
सियारी, भदौ २३
रुपन्देहीको सियारी गाउँपालिका–६ बर्दहवास्थित श्री सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
रसुवामा भदौ १० गते आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
सहकारीका अनुसार संस्थाको कोष, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति तथा कर्मचारीको संयुक्त पहलमा रकम संकलन गरिएको हो।
सहकारीले जारी गरेको विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्रसँग सहकार्य गर्नु सबैको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख छ।
सहकारीले विपद्को यस घडीमा मानवीयता, सहकार्य र एकताको भावना आत्मसात गर्दै प्रभावित परिवारको पुनःस्थापनाका लागि सहयोग गर्न सबैमा अपिलसमेत गरेको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई सहयोग गरिएको जनाउँदै सहकारीले ‘मानवीयता पहिलो’ भन्ने भावनाका साथ विपद्मा परेका नागरिकको साथमा उभिनुपर्नेमा जोड दिएको छ।
प्रकाशित मिति: २०२६-०९-०८ , समय : १५:२७:३६ , १ घन्टा अगाडि