एसीसी प्रिमियर कप : लगातार ३ खेल जितेकाे नेपाल हङकङसँग पराजित

रुपन्देही खबर , २५  पटक हेरिएको

तस्वीर : क्यान

काठमाण्डाै,भदौ २३

एसीसी प्रिमियर कप क्रिकेटमा समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर १ बलमा २४६ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका ईशान पाण्डेले ९०, आसिफ शेखले ४४ रन बनाए । हङकङका एजाज खानले ४ विकेट लिए ।

यसअघि मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । हङकङका बाबर हायातले नटआउट ११७, शाहिद वासिफले ४५ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिए ।

हङकङसँग हारे पनि नेपालले समूह ‘ए’ काे विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएकाे छ । हङकङ समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस्तै यूएई समूह ‘बी’ काे विजेता र ओमान उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

नेपालले समूह चरणकाे पहिलाे खेलमा बहराइन, दाेस्राे खेलमा मलेशिया र तेस्राे खेलमा साउदी अरबलाई हराएकाे थियाे ।

अब सेमिफाइनलमा नेपालले ओमानसँग र हङकङले यूएईसँग खेल्नेछ । प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एशिया कपमा स्थान बनाउनेछ । एसीसी प्रिमियर कप क्रिकेटकाे फाइनल खेल आउँदाे शनिवार भदौ २७ गते हुनेछ ।

प्रकाशित मिति: २०२६-०९-०८ , समय : १९:३५:३३ , १ घन्टा अगाडि