अर्थतन्त्र सुस्त, व्यवसाय संकटमा : सरकारसँग निजी क्षेत्र असन्तुष्ट

रुपन्देही खबर , ५७  पटक हेरिएको

भैरहवा, असोज ४

सरकार स्थिर भए पनि मुलुकको अर्थतन्त्र अपेक्षाअनुसार चलायमान हुन नसकेको भन्दै निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उद्योगी–व्यवसायीले पटक–पटक दिएका सुझाव कार्यान्वयनमा नआउँदा निजी क्षेत्रको सरकारप्रतिको भरोसा कमजोर बन्दै गएको उनीहरूको भनाइ छ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ७३औँ स्थापना दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग तथा व्यवसाय क्षेत्र कठिन अवस्थामा पुगेको बताउनुभयो। उहाँले धेरै उद्योग तथा व्यवसाय बन्द हुने अवस्थामा पुगेको र कतिपय व्यवसायी पलायन भइसकेको उल्लेख गर्नुभयो।

कार्यक्रमका मुख्य वक्ता वैद्यले मुलुकमा आर्थिक गतिविधि बढाउन स्थिर सरकार आवश्यक भए पनि निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विषय सम्बोधन हुन नसकेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्रीहरूले निजी क्षेत्रका समस्या सुन्ने गरे पनि कार्यान्वयनका क्रममा ती विषयलाई प्राथमिकता नदिने उहाँको गुनासो थियो। “प्रधानमन्त्री र मन्त्रीहरूले हाम्रा कुरा सुन्नुहुन्छ, तर कार्यान्वयन गर्ने बेलामा निजी क्षेत्रले उठाएका विषयलाई कुनै मतलब गर्नुहुन्न,” वैद्यले भन्नुभयो।

औद्योगिक तथा व्यावसायिक नीति, नियम तथा विनियमावली निर्माण वा परिमार्जन गर्दा निजी क्षेत्रसँग छलफल गरिए पनि प्राप्त सुझाव व्यवहारमा कार्यान्वयन गर्न सरकारले कन्जुस्याइँ गर्ने गरेको उहाँले आरोप लगाउनुभयो। निजी क्षेत्रका सुझावलाई निर्णय प्रक्रियामा मात्र सीमित नराखी कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो।

राजधानीमा देखिएको एलपी ग्यास अभाव समाधानका लागि महासंघले दिएका सुझावसमेत सम्बन्धित मन्त्रालयबाट प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको वैद्यले बताउनुभयो।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि महासंघले बजार व्यवस्थापनको योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा ६ देखि ७ वटा बजार व्यवस्थापन गर्ने योजना रहेको र त्यसका लागि करिब ८ देखि १० करोड रुपैयाँको परियोजना तयार गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेश अग्रवालले नेपालको उद्योग तथा व्यवसाय क्षेत्र निकै नाजुक अवस्थामा पुगेको बताउनुभयो। यो अवस्था एकै दिनमा सिर्जना नभएको भन्दै उहाँले लामो समयदेखि उद्योगी–व्यवसायीप्रति राज्य र समाजबाट भएको उपेक्षाको परिणामस्वरूप अहिलेको अवस्था आएको धारणा राख्नुभयो। वर्षौंदेखिको उपेक्षाका कारण उद्योगी–व्यवसायी पलायन हुने अवस्थामा पुगेको उल्लेख गर्दै अग्रवालले समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी–व्यवसायी कठिन मोडमा रहेको बताउनुभयो। अहिलेको अवस्था कायम रहे आगामी डेढदेखि दुई वर्षमा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पर्न सक्ने उहाँले चेतावनी दिनुभयो।

नयाँ सरकार गठनपछि आर्थिक गतिविधि सुधार हुने अपेक्षासहित उद्योगी–व्यवसायी उत्साहित र आशावादी बने पनि तीन महिनापछि सरकारले आफ्ना कुरा नसुनेको गुनासो गर्नुपरेको श्रेष्ठले बताउनुभयो। निजी क्षेत्रका माग सम्बोधन गरी उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो।

पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधारसँगै लगानीमैत्री वातावरण निर्माणमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य, होटल संघ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसी, युनिभर्सल शिक्षण अस्पताल भैरहवाका प्रबन्ध निर्देशक तथा स्वास्थ्य व्यवसायी खुमा अर्याल, सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका बरिष्ठ उपाध्यक्ष दिलिप कान्दु ।लगायतले उद्योग तथा व्यवसाय क्षेत्रका समसामयिक विषयमा धारणा राख्नुभएको थियो।

 

प्रकाशित मिति: २०२६-०९-२० , समय : ०७:४४:४३ , २ घन्टा अगाडि