सिद्धार्थनगरबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा प्रवाह हुने

रुपन्देही खबर , ५८  पटक हेरिएको

भैरहवा,असोज ५

सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित व्यवसायीले अब आन्तरिक राजस्वसम्बन्धी आधारभूत सेवा नगरपालिकाबाटै प्राप्त गर्ने भएका छन्। आन्तरिक राजस्व कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिकाबीच करसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने विषयमा बुधबार सम्झौता भएपछि व्यवसायीलाई करसम्बन्धी कामका लागि कार्यालय धाउनुपर्ने बाध्यता घट्ने भएको हो।

सम्झौताअनुसार नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यवसायीलाई व्यवसाय तथा करसम्बन्धी आवश्यक सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। यसबाट कर दर्तालगायतका सामान्य कामका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले नगर क्षेत्रका व्यवसायीलाई स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो। उहाँका अनुसार व्यवसायीले नगरपालिकाबाटै कर दर्तालगायतका सेवा लिन सक्ने व्यवस्था मिलाइनेछ।

करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुँदा व्यवसायीको समय र खर्च बचत हुनुका साथै कर प्रशासनमा पहुँचसमेत सहज हुने पोख्रेलले बताउनुभयो। स्थानीय तहसँगको सहकार्यले व्यवसायीलाई करसम्बन्धी प्रक्रिया बुझ्न र नियमित रूपमा कर प्रणालीमा आबद्ध हुनसमेत सहयोग पुग्ने उहाँको भनाइ छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरभित्र सञ्चालित सबै व्यवसायलाई करको दायरामा ल्याउन सम्झौता महत्वपूर्ण हुने बताउनुभयो। नगर क्षेत्रमा ठूलो संख्यामा व्यवसाय सञ्चालनमा रहे पनि कतिपय व्यवसाय अझै कर प्रणालीको दायरामा आउन बाँकी रहेको भन्दै उहाँले स्थानीय तहबाटै सेवा उपलब्ध गराउँदा व्यवसायीलाई करसम्बन्धी प्रक्रिया पूरा गर्न सहज हुने बताउनुभयो।

उहाँले कर तिर्ने वातावरण सहज बनाएर करको दायरा विस्तार गर्ने नगरपालिकाको नीति रहेको बताउँदै राजस्व वृद्धि मात्रै नभई व्यवसायलाई व्यवस्थित र कानुनी प्रक्रियामा आबद्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी गरिने बताउनुभयो। उहाँले करसम्बन्धी सेवा प्रभावकारी बनाउन आवश्यक जनशक्ति, पूर्वाधार र समन्वयको व्यवस्था मिलाइने जानकारी दिनुभयो।

आन्तरिक राजस्व कार्यालय र नगरपालिकाबीच निरन्तर समन्वय गरी व्यवसायीलाई छिटो, सरल र सहज सेवा दिने वातावरण निर्माण गरिने थापाले बताउनुभयो। स्थानीय तहबाट सेवा प्रवाह हुँदा करदातासँग प्रत्यक्ष सम्पर्क बढ्ने र कर प्रशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

सम्झौता कार्यक्रममा भैरहवा क्षेत्रका व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो। सहभागी व्यवसायीले करसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध हुने व्यवस्थाले आफूहरूलाई सहज हुने बताएका थिए।

सम्झौताले सिद्धार्थनगर क्षेत्रका व्यवसायीलाई कर प्रणालीमा आबद्ध गराउन, व्यवसायको तथ्यांक संकलन गर्न, कर दर्ता बढाउन तथा करको दायरा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:३५:२९ , १ दिन अगाडि