जसपा–लोसपा नवलपरासीको जिल्ला समायोजन सम्पन्न

सुरेश यादव , ४४  पटक हेरिएको

परासी, असोज ६

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको एकीकरणपछिको जिल्ला समायोजन कार्यक्रम नवलपरासीमा सम्पन्न भएको छ। रामग्राम नगरपालिका–४ बैरिहवामा आयोजित कार्यक्रममा पार्टी संगठनलाई एकीकृत गर्दै आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा बहुमत हासिल गर्ने लक्ष्य लिइएको छ।

जसपा नवलपरासीका जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षता तथा पूर्वरक्षा राज्यमन्त्री एवं जसपा केन्द्रीय सदस्य रामवचन यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले मधेसी जनताका माग र समस्यालाई सम्बोधन गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने धारणा राख्नुभयो।

जसपा र लोसपाबीचको समायोजनले संगठनलाई थप सुदृढ बनाउँदै राजनीतिक रूपमा अघि बढ्न सहयोग पुग्ने उहाँको भनाइ थियो। आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

कार्यक्रममा जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामऔतार यादव, केन्द्रीय कार्यकारिणी सदस्य पुरनप्रसाद चौधरी, केन्द्रीय सदस्य मुन्नालाल गुप्ता, केन्द्रीय सदस्य कान्तिदेवी यादव, जोगकुमारी चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो।

त्यसैगरी रामग्राम नगरपालिका–४ का वडाध्यक्ष एवं जिल्ला सचिव मदन यादव, रामग्राम–१० का वडाध्यक्ष सुरेश यादव, पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष एवं जिल्ला सदस्य जगदीश गुप्ता, रामग्राम–४ का वडा सदस्य एवं रामग्राम संयोजक प्रभुलाल मौर्य, जिल्ला सदस्य महेन्द्र यादव तथा जिल्ला सदस्य एवं पूर्व युवा अध्यक्ष राजेन्द्र यादवले पनि कार्यक्रममा धारणा राख्नुभएको थियो।

कार्यक्रममा जिल्ला सहसचिव श्यामसुन्दर चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सहसचिव कमलेश मालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : ०९:२६:४१ , २ घन्टा अगाडि