रुपन्देही खबर , ३६ पटक हेरिएको
काठमाडौं, असोज ६
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर पालिका तहको अधिवेशन बुधबार (असोज ७ गते) हुँदैछ। वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गर्न लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा सम्पन्न भइसकेको छ। बाँकी रहेका केही वडामा पनि सोमबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको समितिले जनाएको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बीच पनि निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जनाएको छ। नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित सबै वडामा सोमबार अधिवेशन सम्पन्न भएको तथा मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडामा समेत अधिवेशन सम्पन्न भएको समितिको भनाइ छ।
भीषण बाढीपहिरोबाट प्रभावित रसुवामा भने विशेष परिस्थितिका कारण पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले रसुवाको अधिवेशन पछि सारिएको जानकारी दिनु भयो ।।
सदस्यता व्यवस्थापनमा प्राविधिक ढिलाइ
कांग्रेस केन्द्रीय समितिले २०८२ पुस २१ गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।
पुरानो विवरणमा नयाँ सदस्यको नामसमेत समावेश गर्नुपर्ने भएकाले देशभरबाट प्राप्त ठूलो तथ्याङ्क व्यवस्थापनका क्रममा केही प्राविधिक समस्या देखिएको समितिको भनाइ छ।
सदस्य सचिव कटुवालले सदस्यता सूची व्यवस्थापनमा भएको ढिलाइ राजनीतिक विवाद वा असमझदारीका कारण नभई प्राविधिक विषय भएको स्पष्ट पार्नु भएको छ ।
पालिकामा पाँच पदाधिकारी चुनिने
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक तहमा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
पालिका कार्यसमितिका सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्। युवा क्लस्टरतर्फ एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
कार्यसमितिलाई थप समावेशी बनाउन गाउँ कार्यसमितिमा सात, नगरमा नौ, उपमहानगरमा ११ र महानगरमा १३ जनासम्म सदस्य मनोनयन गर्न सकिने व्यवस्था पनि गरिएको छ। निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई यस्तो मनोनयनमा प्राथमिकता दिनुपर्ने व्यवस्था छ।
पालिका अधिवेशन सम्पन्न भएपछि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया क्रमशः माथिल्लो तहका नेतृत्व चयनतर्फ अघि बढ्नेछ।
प्रकाशित मिति: २०२६-०९-२२ , समय : २२:५७:०४ , २ घन्टा अगाडि