कांग्रेस सिद्धार्थनगर सभापतिमा देवराज न्यौपानेको प्यानल सहित उम्मेदवारी घोषणा

रुपन्देही खबर , ५०  पटक हेरिएको

भैरहवा, असोज ६

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगर सभापति पदका लागि देवराज न्यौपानेले प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको छ । आज भैरहवामा आयोजित नेपाली काङ्ग्रेस १५ औं महाधिवेशन अन्तर्गत सिद्धार्थनगर नगरसमितीको सभापति एवम पदाधिकारीहरुको उम्मेदवार घोषणा कार्यक्रममा न्यौपानेले आफनो प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै न्यौपानेले पार्टीको संगठनलाई थप मजबुत र एकताबद्ध बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाले आफूले विगत पाँच वर्ष नगर उपसभापतिको जिम्मेवारी सम्हाल्दै पार्टी संगठनमा काम गरेको अनुभवलाई नेतृत्वमा उपयोग गर्ने बताउनु भयो । न्यौपानेले हाल कार्यवाहक सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको उल्लेख गर्दै सिद्धार्थनगरमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिएको बताउनु भयो ।

“कांग्रेसको संगठनलाई अझ मजबुत बनाउन मैले उम्मेदवारी दिएको हुँ । सिद्धार्थनगरलाई कांग्रेसमय बनाउन सबैको साथ र सहयोग आवश्यक छ,” उहाले भन्नु भयो ।

उहाले कांग्रेसलाई राष्ट्रिय राजनीतिको महत्वपूर्ण संगठनका रूपमा स्थापित गर्दै पार्टीको सिद्धान्त, संघर्ष र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने धारणा राख्नु भयो । स्थानीय तहमा पार्टी संगठनलाई जनतासँग जोड्दै जनप्रतिनिधि र संगठनबीच समन्वय बढाउनुपर्नेमा पनि उहाले जोड दिनु भयो । न्यौपानेले सिद्धार्थनगरको विकासलाई पार्टीको राजनीतिक गतिविधिसँग जोडेर अघि बढाउने धारणा राखे। नगरलाई व्यवस्थित र हरित सहरका रूपमा विकास गर्ने स्थानीय तहको लक्ष्यसँग समन्वय गर्दै विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन कांग्रेसले भूमिका खेल्नुपर्ने उहाको भनाइ थियो ।

उहाले पार्टीको नेतृत्व चयन लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै अधिवेशनमा सहभागी प्रतिनिधिहरूले आफ्नो विवेकका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । नगर समितिको नेतृत्वमा आउने व्यक्तिले पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणसँग समन्वय गरी संगठनलाई जनमुखी बनाउनुपर्ने बताउनु भयो ।

न्यौपानेले पार्टीभित्रको आन्तरिक निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएर सबै पक्षले मर्यादित ढंगले प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भयो । आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई समेत लक्षित गरी अहिलेबाटै संगठन निर्माण र कार्यकर्ता परिचालनमा ध्यान दिनुपर्ने उहाको भनाइ थियो । न्यौपानेको प्यानलबाट उपसभापतिमा गौरव श्रेष्ठ, महिला उपसभापतिमा निलु श्रीस मगर, सचिवमा धर्मवीर शर्मा र सहसचिवमा दिनेश सहानी उम्मेदवार छन्।

 

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सिद्धार्थनगरमा पार्टी संगठनलाई बलियो र गतिशील बनाउन न्यौपाने नेतृत्वको प्यानल अघि सारिएको बताउनु भयो । उहाले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन संगठनलाई अहिलेबाटै सक्रिय बनाउनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसिउद्दीन खाँ, प्रदेशसभा सदस्य देवीप्रसाद चौधरी, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया , सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ, दीपेन्द्रमान श्रेष्ठल गायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन कांग्रेस युवा नेता ओजश शर्माले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२६-०९-२३ , समय : ००:२८:३६ , १ घन्टा अगाडि