रुपन्देही खबर , ५९ पटक हेरिएको
भैरहवा, असोज ८
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिद्धार्थनगर नगर समितिको सभापतिमा देव राज न्यौपाने निर्वाचित हुनुभएको छ। नगर कार्यसमितिको नेतृत्वका लागि भएको निर्वाचनमा न्यौपानेले १५९ मत प्राप्त गर्दै प्रतिस्पर्धी संजीव शर्मा रेग्मीलाई ९ मतले पराजित गर्नुभएको हो।
निर्वाचन समितिका अनुसार कूल ३१८ मत गणना हुँदा ६ मत बदर भएको थियो। रेग्मीले १५० मत प्राप्त गर्नुभएको थियो। न्यौपाने यसअघि कांग्रेस सिद्धार्थनगरको उपसभापति निर्वाचित हुनुभएको थियो भने पछिल्लो समय कार्यवाहक नगर सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो।
उपसभापतिमा निलु सिरिस मगर र गौरव श्रेष्ठ निर्वाचित हुनुभएको छ। मगरले १६२ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी लक्ष्मी अर्यालले १४५ मत प्राप्त गर्नुभयो। श्रेष्ठले १७४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी अनिल केसीले १३२ मत पाउनुभयो।
सचिवमा धर्मवीर शर्मा १६७ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी पंकज उदासले १४० मत प्राप्त गर्नुभयो। सहसचिवमा दिनेश केवट १६५ मतसहित निर्वाचित हुनुभएको छ भने राममिलन यादवले १३९ मत प्राप्त गर्नुभयो।
वडास्तरीय सदस्यतर्फ वडा नं. १ खुलामा माधव शर्मा १६७ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी खगनाथ गैरेले १३० मत प्राप्त गर्नुभयो। वडा नं. ६ महिला सदस्यमा सीतादेवी थारु १६० मतसहित निर्वाचित हुनुभयो भने उर्मिला कुमारी शर्माले १३६ मत प्राप्त गर्नुभयो।
नगर कार्यसमितिको नेतृत्वका लागि न्यौपाने र रेग्मीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिनुभएको थियो। अन्य पदका सदस्य तथा युवा र दलिततर्फका सदस्य उम्मेदवार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा न्यौपानेलाई बालकृष्ण खाण पक्ष र रेग्मीलाई भरत शाह पक्षको समर्थन थियाे।
प्रकाशित मिति: २०२६-०९-२४ , समय : ०९:३९:५० , २ घन्टा अगाडि