रुपन्देहीमा पाँच लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

रुपन्देही खबर , ६९  पटक हेरिएको

भैरहवा, असोज १८ 

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली गरी भित्र्याइएका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आइतबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा पाँच लाख एक हजार ३६८ रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मुग्लाहबाट लु ८५ प ६२५ नम्बरको मोटरसाइकलसहित एक लाख ४० हजार रुपैयाँ बराबरका १०० थान ढोकाका पर्दा बरामद गरिएको छ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट ४९ हजार ४० रुपैयाँ बराबरका टिफिन डब्बा, मसला, सलाई, चियापत्ती, कुरकुरे, काजु, बिस्कुट र ६० केजी चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

सिद्धार्थनगर–१ स्थित बाइपास नजिकबाट लु ४८ प ९५८३ र लु ५ प ७९२७ नम्बरका दुई मोटरसाइकलसहित ८० केजी कुखुराको मासु बरामद गरिएको छ। उक्त मासु तथा मोटरसाइकलको अनुमानित मूल्य एक लाख ७२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मुग्लाहबाट भारतीय नम्बर प्लेटको यूपी ५६ एएम १६७३ नम्बरको मोटरसाइकलसहित विभिन्न प्रकारका पटाका बरामद गरिएको छ। मोटरसाइकल र पटाकाको अनुमानित मूल्य एक लाख ४० हजार ३२८ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०४ , समय : २०:४२:५९ , २ घन्टा अगाडि