देवदहमा पेस्तोलबाट गोली चलाउनेसहित तीन जना पक्राउ

रुपन्देही खबर , ४०  पटक हेरिएको

भैरहवा, असोज १८

रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएर एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। देवदहा नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भन्ने दुर्गा प्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली चलाउँदा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः४५ बजे गोली चल्दा खत्री क्षेत्रीको दाहिने गालाको छाला उक्किएको थियो। घाइते उनको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।

घटनापछि प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले गोली चलाएको आरोप लागेका खरेलसहित देवदह नगरपालिका–५ मितेरी गाउँकै ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई राउन्ड गोलीसमेत बरामद गरेको छ।घटनाको कारण खुल्न बाँकी रहेको र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०४ , समय : २१:०६:०३ , १ घन्टा अगाडि