सिद्धार्थनगरमा शारीरिक अपाङ्गता परीक्षण शिविर, ८८ बालबालिकाले पाए सेवा

रुपन्देही खबर , ३६  पटक हेरिएको

भैरहवा, असोज १९

सिद्धार्थनगर नगरपालिकामा सञ्चालन गरिएको शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा ८८ जना बालबालिकाले सेवा लिएका छन्। अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान, उपचार तथा पुनर्स्थापनाका लागि शिविर सञ्चालन गरिएको हो।सिद्धार्थनगर नगरपालिका र अपाङ्गता भएका बालबालिकाको अस्पताल तथा पुनर्स्थापना केन्द्रको आयोजनामा तथा भीम अस्पतालको समन्वयमा आइतबार शिविर सञ्चालन गरिएको थियो।

शिविरमा ७५ जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका छन्। तीमध्ये १० जना बालबालिकालाई विशेष किसिमका जुत्तालगायत आवश्यक सहायक सामग्री वितरण गरिएको छ भने चार जनालाई प्लास्टर लगाइएको छ।

त्यस्तै, ३७ जना बालबालिकाको अर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच गरिएको छ। उपचारका क्रममा १० जना बालबालिकालाई शल्यक्रियाका लागि मिति तोकिएको छ भने तीन जनालाई चिकित्सक परामर्शका लागि मिति दिइएको छ।

शिविरमार्फत शारीरिक अपाङ्गता भएका बालबालिकाको अवस्था पहिचान गरी आवश्यक उपचार, फिजियोथेरापी, शल्यक्रिया, चिकित्सकीय परामर्श तथा सहायक सामग्रीको व्यवस्थापनका लागि सहजीकरण गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : १७:४२:०४ , २ घन्टा अगाडि