रुपन्देही खबर , ४८ पटक हेरिएको
मणिग्राम, असोज २५
विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि, व्यावसायिक तयारी र सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्देश्यले राममणि बहुमुखी क्याम्पसमा तीनवटा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार समितिको आयोजनामा बी.एड. तहका विद्यार्थीलाई लक्षित गरी शिक्षक सेवा आयोगको तयारीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय, सिद्धार्थनगरका एकाइ प्रमुख हरि बिष्टले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले शैक्षिक ज्ञानसँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारी र व्यावसायिक जीवनका लागि सक्षम बनाउने उद्देश्यले क्याम्पसले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, शिक्षा तथा मानविकी संकाय प्रमुख लक्ष्मण खरेल तथा प्राध्यापकहरू नारायणप्रसाद भुसाल, मधुसुदन खनाल, जीवनकुमार पौडेल, कविता पन्थी, वेदप्रसाद न्यौपाने र कुलबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।
यसैगरी, स्नातक तहको चौथो वर्ष उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख पराजुलीले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई थप अध्ययन तथा अध्यापनका लागि क्याम्पस तयार रहेको बताउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन संकाय प्रमुख राजेन्द्र थापामगर तथा प्राध्यापकहरू कृष्णकुमार रेग्मी र मधुसुदन खनाललगायतले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैबीच, क्याम्पसद्वारा आयोजित भिडियो सामग्री निर्माण प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट सामग्री निर्माण गर्ने पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा सुजन सुवेदी पहिलो हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । नवीन गौतम र सुमित अग्रहरीको संयुक्त सामग्री दोस्रो हुँदै तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । त्यसैगरी, समीर सुवेदी, सुजाता पन्थी र आराधना भण्डारी तेस्रो हुँदै जनही दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
विद्यार्थीको शैक्षिक क्षमता, व्यावसायिक दक्षता र सिर्जनात्मक प्रतिभा विकास गर्ने उद्देश्यले आयोजित यी कार्यक्रमले उनीहरूलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।
प्रकाशित मिति: २०२६-१०-११ , समय : ०९:३६:०० , २ घन्टा अगाडि