रुपन्देही खबर , ४२ पटक हेरिएको
भैरहवा, असोज २७
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आगामी मंसिर १७ देखि २८ गतेसम्म भैरहवामा दशौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा आयोजना हुने महोत्सवमा तीन लाख दर्शक सहभागी गराउने र १० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
पर्यटन, उद्योग, कृषि र व्यापार : राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा करिब ३०० स्टल रहनेछन्। महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, घरेलु तथा साना उद्योग, महिला उद्यमी र व्यवसायीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।
महोत्सवबारे जानकारी दिन मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक नेत्रप्रसाद आचार्यले स्थानीय उत्पादनको बजारीकरण, स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन र लुम्बिनी क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन विकासलाई महोत्सवले प्राथमिकता दिने बताउनुभयो।
उहाँका अनुसार महोत्सवमार्फत रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, विभिन्न जिल्लाका मौलिक उत्पादनको पहिचान विस्तार गर्ने तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। घरेलु तथा हस्तकलाका सामग्री उत्पादक, साना उद्यमी र महिला व्यवसायीलाई आफ्ना उत्पादनको बजार विस्तार गर्न महोत्सवले अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
महोत्सवमा कृषि उपज, माछा, घरेलु सामग्री तथा राष्ट्रियस्तरका उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ। साथै, विद्यालयका विद्यार्थी तथा स्टार्टअप उद्यमीलाई लक्षित गरी विभिन्न प्रतियोगिता र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो।
लुम्बिनी क्षेत्रका ऐतिहासिक तथा पुरातात्त्विक स्थलको पर्यटन प्रवर्द्धनलाई समेत महोत्सवसँग जोड्ने तयारी गरिएको छ। भगवान् गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलगायतका क्षेत्रको भ्रमण व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरिने आयोजकले जनाएको छ। ती क्षेत्रलाई समेटेर विशेष पर्यटन प्याकेज निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
महोत्सवमा भारतीय सीमावर्ती सहरसहित विभिन्न क्षेत्रबाट दर्शक तथा उपभोक्ताको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको बिक्री विस्तार गर्नुका साथै पर्यटन, होटल व्यवसाय, व्यापार र अन्य आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुर्याउनेछ।
सिद्धार्थ उद्योग वाणिज्य संघले विसं २०६१ देखि भैरहवामा मेला तथा महोत्सव आयोजना गर्दै आएको छ। संघले विसं २०६३, २०६५, २०६७, २०६९, २०७१, २०७५ र २०८१ मा महोत्सव आयोजना गरिसकेको जनाएको छ। यस वर्षको महोत्सव दशौं संस्करण हो।
पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्माले देशभर मेला तथा महोत्सवको सिजन सुरु भएको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवलाई आर्थिक स्रोत जुटाउने माध्यमका रूपमा मात्र नलिएको बताउनुभयो।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्वअध्यक्ष नरेश केसी तथा उपाध्यक्ष दीपेन्द्र बडुवाललगायतको सहभागिता थियो। महोत्सवको तयारीका लागि विभिन्न समिति गठन गरी काम अघि बढाइएको संघले जनाएको छ। आयोजकले उद्योगी, व्यवसायी, उद्यमी, संघसंस्था तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : २०:४०:३९ , ३३ मिनेटutes अगाडि