वैदेशिक रोजगारीमा पठाउने भन्दै ८० लाखभन्दा बढी ठगी, चार जना पक्राउ

रुपन्देही खबर , ३३  पटक हेरिएको

काठमाडौं, असोज २७

आकर्षक तलबको प्रलोभन देखाउँदै टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले ६ जना पीडितबाट कुल ८० लाख ४८ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने २२ वर्षीय दिपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जनाएको छ। कार्यालयका अनुसार दिपकलाई टोखा नगरपालिका–३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका–११ बाट शनिबार, सुमनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका–१७ बाट सोमबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार दिपकले एक जना पीडितलाई टर्की पठाइदिने भन्दै दुई लाख ४८ हजार रुपैयाँ लिएका थिए। त्यसैगरी, नेहाले दुई जना पीडितलाई बेलायत पठाइदिने प्रलोभन देखाएर ६७ लाख रुपैयाँ लिएको उजुरी परेको छ।

यस्तै, सुमनले दुई जना पीडितलाई दक्षिण कोरिया पठाइदिने भन्दै छ लाख रुपैयाँ र सुस्मिताले एक जना पीडितलाई बेलायत पठाइदिने भन्दै पाँच लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।वैदेशिक रोजगारीमा जाने क्रममा आकर्षक तलब र सहज रूपमा विदेश पठाइदिने आश्वासनमा रकम बुझाउँदा ठगीमा पर्ने जोखिम रहने भएकाले सम्बन्धित निकायबाट इजाजत प्राप्त संस्था तथा वैदेशिक रोजगारसम्बन्धी प्रक्रिया बुझेर मात्र अघि बढ्नुपर्ने देखिन्छ।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १९:२६:२३ , ३९ मिनेटutes अगाडि