रुपन्देही खबर , ४७ पटक हेरिएको
मर्चवारी, असोज २७
रुपन्देहीको कोटहीमाई गाउँपालिका–६, मर्चवारीस्थित मर्चवारीमाई मन्दिर परिसरमा आयोजित निःशुल्क आँखा शिविरमा ५०० जनाले आँखा परीक्षण गराएका छन् । परीक्षण गराएकामध्ये २०० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ ।
युवा नेता तथा समाजसेवी राहुल यादवको आयोजना र रण अम्बिका आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा मंगलबार शिविर सञ्चालन गरिएको हो । मर्चवार क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका सर्वसाधारणले आँखा परीक्षण गराएका थिए ।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीको बुधबार बिहान ७ बजेदेखि निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको आयोजक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जान कठिनाइ हुने बिरामीलाई लक्षित गरी शल्यक्रियाका लागि आवश्यक सहयोग उपलब्ध गराउन लागिएको हो ।
यादवले मर्चवार क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज नभएकाले स्थानीय नागरिकलाई गाउँमै परीक्षण तथा उपचारको अवसर प्रदान गर्न शिविर आयोजना गरिएको बताउनुभयो । विशेषगरी ज्येष्ठ नागरिकले समयमै आँखा परीक्षण गराउन नपाउने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“स्वास्थ्य सेवाको पहुँचमा समस्या भएका कारण यहाँका धेरै नागरिक, विशेषगरी ज्येष्ठ नागरिकले समयमै आँखा जाँच गराउन पाउनुभएको छैन । त्यसैले गाउँमै शिविर सञ्चालन गरेर स्थानीय नागरिकलाई सेवा दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ,” यादवले भन्नुभयो ।
कोटहीमाई गाउँपालिका–६ का स्थानीय पारस यादवले मर्चवार क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच सहज नभएको अवस्थामा निःशुल्क आँखा शिविरले स्थानीय नागरिकलाई राहत पुगेको बताउनुभयो । उहाँले गाउँमै आँखा परीक्षण गराउने अवसर उपलब्ध गराएकोमा आयोजकको प्रशंसा गर्दै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
“मर्चवार दुर्गम क्षेत्र भएकाले यहाँका नागरिकलाई आँखा परीक्षण तथा उपचारका लागि सहज पहुँच छैन । यस्तो अवस्थामा गाउँमै शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिनु सराहनीय काम हो,” उहाँले भन्नुभयो ।
शिविरमा सेवा लिएका स्थानीय रामदासले आफ्नै गाउँनजिकै आँखा परीक्षण तथा उपचार सेवा पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आँखाको अवस्थाअनुसार निःशुल्क औषधिसमेत उपलब्ध हुँदा उपचारमा सहज भएको उल्लेख गर्नुभयो । स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता रहेको अवस्थामा स्थानीयस्तरमै सेवा पाउँदा समय र खर्च बचत भएको उहाँको भनाइ छ ।
त्यस्तै, हर्दीका रामगत नाउले पनि गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन हुँदा खुसी लागेको बताउनुभयो । उहाँले स्थानीयस्तरमै आँखा परीक्षण तथा आवश्यक उपचार सेवा उपलब्ध हुँदा सर्वसाधारणलाई सहज भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो ।

आयोजकका अनुसार शिविरमा ५०० जनाको आँखा परीक्षण गर्दा २०० जनामा मोतियाबिन्दु देखिएको छ । मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको छ । शिविरले मर्चवार क्षेत्रका नागरिकलाई आँखासम्बन्धी समस्या पहिचान गर्न तथा आवश्यक उपचार प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२६-१०-१३ , समय : २३:२०:३२ , ४ घन्टा अगाडि