रुपन्देही खबर , १७ पटक हेरिएको
बुटवल, कार्तिक ७
विश्व पोलियो दिवसको अवसरमा पोलियो रोगको रोकथाम र उन्मूलनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार बुटवलमा जनचेतनामूलक र्याली निकालिएको छ। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ५ को आयोजनामा तथा विभिन्न रोटरी क्लबहरूको सहभागितामा र्याली निकालिएको हो। र्यालीमा सहभागीहरूले पोलियो रोगविरुद्ध सचेतना फैलाउँदै यसको रोकथाम र उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका थिए।
र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौड्यालले पोलियो उन्मूलन अभियानमा रोटरीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विश्वबाटै पोलियो उन्मूलन गर्ने अभियानमा नेपालले पनि निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
पोलियो उन्मूलनका लागि सरकारी निकाय, सामाजिक संघसंस्था तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। रोग लाग्न नदिन समयमै खोप लगाउने, बालबालिकाको स्वास्थ्यप्रति सचेत रहने र पोलियोसम्बन्धी सही जानकारी समुदायसम्म पुर्याउने कार्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा रोटरियन बालकृष्ण पाण्डेले पोलियो रोग लागिसकेपछि त्यसबाट हुने पक्षघातलगायतका असरलाई पूर्ण रूपमा निको पार्न कठिन हुने भएकाले रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले पोलियो उन्मूलनका लागि खोप अभियानसँगै समुदायस्तरमा जनचेतना फैलाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
पाण्डेका अनुसार रोटरीले सन् १९७९ अक्टोबर २४ देखि पोलियो उन्मूलनसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। रोटरीले अक्टोबर २४ लाई विश्व पोलियो दिवसका रूपमा मनाउँदै पोलियोविरुद्धको अभियानलाई निरन्तरता दिँदै आएको छ।
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबाट सुरु भएको र्याली राजमार्ग चौराहा, मिलनचोक, बसपार्क र पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर सम्पन्न भएको थियो।
पोलियो मुख्यतः बालबालिकालाई प्रभावित पार्न सक्ने संक्रामक रोग हो। यसले स्नायु प्रणालीमा असर गरी पक्षघातसमेत गराउन सक्छ। रोगको जोखिम कम गर्न नियमित खोप लगाउनु र स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्नु महत्त्वपूर्ण मानिन्छ। विश्व पोलियो दिवसका अवसरमा आयोजित र्यालीले पोलियो उन्मूलनका लागि जनस्तरमा सचेतना फैलाउने, खोपको महत्त्व बुझाउने र रोगविरुद्धको अभियानमा सामाजिक संस्थाहरूको भूमिका सुदृढ बनाउने सन्देश दिएको आयोजकहरूले बताएका छन्।
प्रकाशित मिति: २०२६-१०-२४ , समय : २०:२९:१० , २ घन्टा अगाडि