रुपन्देही खबर , ५६ पटक हेरिएको
भैरहवा, कार्तिक ९
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब २ लाख ७४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सोमबार सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा २ लाख ७४ हजार १४३ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ स्थित बसपार्क नजिकैबाट १० हजार रुपैयाँ बराबरको १२ किलोग्राम तेजपत्ता र ४० किलोग्राम अदुवा बरामद गरिएको छ। सोही वडाको पिपलबोटबाट १७ हजार रुपैयाँ बराबरका विभिन्न किराना सामान तथा मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, रोहिणी गाउँपालिका–३ स्थित कदमहवाबाट ५० हजार रुपैयाँ बराबरको लु १४ प १२७३ नम्बरको मोटरसाइकलसहित २४ वटा बोइलर कुखुरा बरामद गरिएको छ।
प्रहरीले सिद्धार्थनगर नगरपालिका–१ स्थित बसपार्क नजिकैबाट सबैभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। उक्त स्थानबाट १ लाख ९७ हजार १४३ रुपैयाँ बराबरका १७७ थान मोइस्चराइजर, १७९ थान फेसवास, ३० थान फेस टोनर र वाइवाई चाउचुराका ६ कार्टुन नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद गरेका सामानको कुल अनुमानित मूल्य २ लाख ७४ हजार १४३ रुपैयाँ रहेको जनाएको छ। नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि भैरहवास्थित भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
भारतसँग खुला सीमा जोडिएको रुपन्देहीका विभिन्न नाकाबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रण गर्ने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा जाँचलाई निरन्तरता दिँदै आएको छ। भन्सार छलीबाट हुने अवैध कारोबार नियन्त्रण तथा राजस्व चुहावट रोक्ने उद्देश्यले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
प्रकाशित मिति: २०२६-१०-२६ , समय : १९:२८:२० , २ घन्टा अगाडि