नारद कोहार , ७१ पटक हेरिएको
कपिलवस्तु, कार्तिक १६
कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ६५ वर्षीय मुस्तकीम मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन घाइते भएका छन् ।
सोमबार साँझ करिब ४ः५५ बजे कपिलवस्तु नगरपालिका–६ स्थित थुम्हवा चोकमा रहेको जितपुर–तौलिहवा सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ओदारीबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले थुम्हवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५५ एल ०४८९ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक हुसेन र पछाडि बसेका मुसलमान घाइते भएका थिए । दुवैलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले मुसलमानलाई मृत घोषणा गरेका थिए ।
टाउको, दुवै हात र खुट्टामा चोट लागेका हुसेनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि साँझ ५ः१५ बजे भैरहवा रिफर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले दुर्घटनामा एक जनाको मृत्यु भएको र एक जना घाइतेको उपचार भइरहेको पुष्टि गर्नुभयो ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाणगंगा नगरपालिका–११ निवासी ३१ वर्षीय गोविन्द थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २०२६-११-०२ , समय : १९:५४:१६ , २ घन्टा अगाडि