मधेश प्रदेशमा नयाँ सरकार गठन अझै अन्योलमा, दलहरूबीच सहमति जुट्न सकेन

रुपन्देही खबर , ४५  पटक हेरिएको

काठमाडौं, मंसिर ३

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सरकार गठन प्रक्रिया अन्योलमा परेको छ । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय दिए पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति हुन सकेको छैन ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय दिनुभएको छ ।

नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार बाहिरिएको थियो । त्यसपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, एमाले, नेकपा र जनमत पार्टीबीच छलफल भइरहे पनि नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन । यद्यपि बिहीबार अबेरसम्म सहमति जुट्ने र शुक्रबार नै सरकार गठनका लागि दाबी पेस गर्ने दलका नेताहरूले बताएका छन् ।

जसपा नेपाललाई सरकारको नेतृत्व दिन एमाले र नेकपा तयार देखिएका छन् । तर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको मुखमा प्रदेश सरकारको नेतृत्व लिन नहुने धारणा राख्नुभएको छ । एमाले, कांग्रेस र नेकपाका कारण मधेश प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदा संघीयताप्रति नै नकारात्मक सन्देश गएको उहाँको भनाइ छ ।

यता, जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव भने पार्टीले सरकारको नेतृत्व लिनुपर्ने पक्षमा हुनुहुन्छ । नेतृत्वको विषयमा पार्टीभित्रै फरक धारणा देखिएपछि सरकार गठनको समीकरण थप पेचिलो बनेको छ ।

मधेश प्रदेशसभामा जसपा नेपाल २८ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । यसअघि २४ सांसदसहित सबैभन्दा ठूलो दल रहेको एमाले जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरणपछि दोस्रो स्थानमा पुगेको हो ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद रहेका छन् ।

बहुमतका लागि आवश्यक सांसदको समर्थन जुटाउन दलहरूबीच छलफल जारी रहे पनि नेतृत्वको टुंगो नलाग्दा मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अझै अनिश्चित बनेको छ ।

प्रकाशित मिति: २०२६-११-१९ , समय : ०९:३०:२० , ४६ मिनेटutes अगाडि