भैरहवामा सामाचकेवा पर्व मनाइयो, मिथिला संस्कृति संरक्षणमा जोड

मिथिलाञ्चल समाज र महिला समाजको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , ४३  पटक हेरिएको

भैरहवा, मंसिर ९

मिथिला संस्कृति, परम्परा र लोकसंस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा सामाचकेवा कार्यक्रम सम्पन्न भएको छ । मिथिलाञ्चल समाज रुपन्देही र मिथिलाञ्चल महिला समाजको संयुक्त आयोजनामा मंगलबार सिद्धार्थनगर–६ भैरहवामा कार्यक्रम गरिएको हो ।

मिथिलाञ्चल समाज रुपन्देहीका अध्यक्ष अमरकुमार झाको अध्यक्षता, नेपाल मैथिल समाजका संस्थापक अध्यक्ष अमरेश नारायण झाको प्रमुख आतिथ्यता तथा नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख मनोज यादवको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि अमरेश नारायण झाले सामाचकेवा पर्व मिथिला समुदायको सांस्कृतिक पहिचान, दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र सामाजिक सद्भावको प्रतीक भएको बताउनुभयो । उहाँले पर्वले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै पुस्तौँदेखि चल्दै आएको लोकसंस्कृति संरक्षणमा योगदान पुर्‍याउने उल्लेख गर्नुभयो ।

मिथिला संस्कृति माता सीताको इतिहास, महाकवि विद्यापति तथा मिथिलाको ऐतिहासिक र धार्मिक पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । सामाचकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीको सुख, दीर्घायु र समृद्धिको कामना गर्ने सन्देश दिने उहाँको भनाइ थियो ।

पर्वसँग जोडिएको चुगलाको प्रसंगले समाजमा हुने कुरा काट्ने प्रवृत्ति, मनमुटाव र सामाजिक विकृतिलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने बताउँदै उहाँले आपसी विवादभन्दा मेलमिलाप, सद्भाव र एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मिथिलाञ्चल समाज रुपन्देहीका अध्यक्ष अमरकुमार झाले मिथिला समुदाय भाषा, संस्कृति, कला र परम्पराले समृद्ध रहेको बताउनुभयो । माता सीता र महाकवि विद्यापतिसँग जोडिएको मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानप्रति गर्व व्यक्त गर्दै उहाँले मातृभाषा, मौलिक पहिरन, खानपान र सांस्कृतिक परम्पराको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

घरपरिवारदेखि नै मातृभाषाको प्रयोग र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उहाँले मौलिक संस्कृति जोगाउन सके मात्रै भावी पुस्तामा मिथिलाको पहिचान हस्तान्तरण गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजसेवी अमित गुप्ताले सामाचकेवा पर्व मिथिला समुदायको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको बताउनुभयो । उहाँले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, आत्मीयता र पारिवारिक सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक सद्भाव र एकता कायम गर्न सहयोग पुर्‍याउने बताउनुभयो । मौलिक संस्कृति र परम्पराको महत्त्व नयाँ पुस्तामाझ हस्तान्तरण गर्न सबैले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

युवा नेता तार्केश्वर कान्दुले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान जोगाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न सांस्कृतिक पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

समाजसेवी नारायणप्रसाद भण्डारीले सामाचकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, विश्वास र आत्मीयताको सम्बन्ध बलियो बनाउने बताउनुभयो । उहाँले मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा समाजका उपाध्यक्ष शत्रुघन पण्डितले स्वागत मन्तव्य राख्नुभएको थियो भने मिथिलाञ्चल महिला समाजका उपाध्यक्ष विभा झाले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो । समाजसेवी वीरेन्द्र सी तथा भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिल झाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

मिथिलाञ्चल समाज रुपन्देहीका महासचिव सियाराम यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका संरक्षक कपुरचन्द महासेठ, वरिष्ठ उपाध्यक्ष अशोककुमार शाह, उपाध्यक्ष शत्रुघन पण्डित, कोषाध्यक्ष दशरथ भक्त, सचिव उषा पाठक, मिथिलाञ्चल महिला समाजका अध्यक्ष मिना शाहलगायत पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाचकेवा पर्वसँग सम्बन्धित सांस्कृतिक गतिविधि प्रस्तुत गर्दै मिथिला समुदायको मौलिक परम्परा, लोकसंस्कृति र सामाजिक एकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-११-२५ , समय : १३:३७:५१ , १९ मिनेटutes अगाडि