आध्यात्मिक चेतना र आत्मज्ञानको सन्देश फैलाउँदै भैरहवामा प्रकाश दिवस मनाइयो

उर्मिला यादव यात्री , ३३  पटक हेरिएको

भैरहवा, मंसिर ११ 

पश्चिमाञ्चल जीवनयोग प्रयोगशाला, सिद्धार्थनगर–६, रुपन्देहीले शुक्रबार दीप प्रज्वलन गरी रमेश गुरुदेवको प्रकाश दिवस मनाएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले आध्यात्मिक ज्ञानलाई व्यवहारमा उतार्दै आत्मचेतना, सकारात्मक सोच, प्रेम र शान्तिलाई जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका संरक्षक राजु ढकालले सूचना प्राप्त गर्नु र वास्तविक ज्ञान हासिल गर्नु फरक विषय भएको बताउनुभयो। उहाँले मानिससँग विभिन्न विषयको जानकारी भए पनि त्यसलाई व्यवहारमा लागू गर्न नसकेसम्म वास्तविक ज्ञानी बन्न नसकिने धारणा राख्नुभयो।

प्राप्त ज्ञानलाई दैनिक जीवन र व्यवहारमा प्रयोग गर्न सक्नु नै वास्तविक ज्ञान भएको उल्लेख गर्दै उहाँले आध्यात्मिक चेतनाले मानिसलाई आफ्नो वास्तविक स्वरूप पहिचान गर्न सहयोग पुर्‍याउने बताउनुभयो। मन, विचार र भावनामा शान्ति कायम गर्दै जीवनमा प्रेम, सहनशीलता र सकारात्मकता विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

ढकालले आध्यात्मिक ज्ञानलाई सुन्ने र बुझ्ने विषयमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। जीवनमा आइपर्ने चुनौतीलाई स्वीकार गर्दै जिम्मेवारीप्रति सचेत हुनु र आफ्ना व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु नै ज्ञानको सार्थकता भएको उहाँले बताउनुभयो।

कार्यक्रममा प्रयोगशालाका सल्लाहकार जीवनप्रकाश पाण्डेले रमेश गुरुदेवले प्राप्त गर्नुभएको आध्यात्मिक ज्ञान र समाजमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो। उहाँले प्रकाश दिवस गुरुदेवको ज्ञान, शिक्षा र आध्यात्मिक चेतनालाई स्मरण गर्ने अवसर भएको बताउनुभयो।

भगवान् गौतम बुद्धको प्रसङ्ग उल्लेख गर्दै पाण्डेले बुद्धत्व र आत्मज्ञान बाहिर खोज्ने विषय नभई मानिसभित्रै रहेको चेतनाको पहिचान भएको बताउनुभयो। मानिसले अहंकार, क्रोध, राग र घमण्डजस्ता नकारात्मक भावना त्याग्न सके वास्तविक आत्मज्ञानको अनुभूति गर्न सक्ने उहाँको भनाइ थियो। रमेश गुरुदेवले आफूभित्रको ज्ञान र चेतना पहिचान गरी त्यसलाई समाजमा बाँड्ने काम गर्नुभएको उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी, पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका जिल्ला इन्चार्ज खगनाथ गैरेले गुरुदेवको प्रकाशन भएको दिनको स्मरणमा प्रकाश दिवस मनाइएको बताउनुभयो। उहाँका अनुसार दिवसका अवसरमा देशका विभिन्न जिल्ला, केन्द्र तथा गाउँगाउँमा कार्यक्रम आयोजना गरिएको थियो।

गैरेले जीवन विज्ञानको केन्द्रीय कार्यालयमा बिहान ७ः३० बजेदेखि बेलुका ६ बजेसम्म कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै देशका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका जीवनयोग प्रयोगशालामा पनि दिवस मनाइएको बताउनुभयो।

गुरुदेवले प्रदान गर्नुभएको आध्यात्मिक ज्ञान, शिक्षा र प्रेरणालाई व्यवहारमा उतार्न सके जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले बताउनुभयो। उहाँले गुरुदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आध्यात्मिक ज्ञानको ज्योति समाजका सबै तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका अध्यक्ष लक्ष्मण भण्डारीले प्रकाश दिवसको महत्त्वमाथि प्रकाश पार्दै गुरुदेवले देखाउनुभएको आध्यात्मिक मार्ग, ज्ञान र शिक्षालाई जीवनमा आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले आध्यात्मिक चेतनाको विकाससँगै समाजमा प्रेम, शान्ति र सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभयो। प्रयोगशालाका सचिव मेनका जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-११-२७ , समय : २३:२८:१५ , २२ मिनेटutes अगाडि