सिद्धार्थनगर ५ मा एकमहिने कार ड्राइभिङ तालिम सुरु, सीपमार्फत युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

उर्मिला यादव यात्री , ३८  पटक हेरिएको

भैरहवा, मंसिर १२

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ को वडा कार्यालयले स्थानीय नागरिकको सीप तथा क्षमता अभिवृद्धि गरी रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले एकमहिने कार ड्राइभिङ प्रशिक्षण सुरु गरेको छ। वडा कार्यालयले शुक्रबार आयोजना गरेको प्रशिक्षणको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले उद्घाटन गर्नुभएको हो। वडा नम्बर ५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख खाँले सवारीसाधन चलाउने सीप व्यक्तिगत आवश्यकता पूरा गर्ने माध्यम मात्र नभई रोजगारी र आयआर्जनको अवसरसमेत बन्न सक्ने बताउनुभयो।

उहाँले दक्ष चालकको माग स्वदेश तथा विदेशमा समेत रहेकाले ड्राइभिङ सीप हासिल गरेका व्यक्तिले रोजगारीका अवसर प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो। सीप सिकेर त्यसलाई व्यवहारमा उतार्न सके आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

नगर प्रमुख खाँले युवालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। नगर विकासका योजना तथा कार्यक्रम सफल बनाउन नागरिकको सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले विकासका कामको उद्देश्य र दीर्घकालीन लाभ बुझेर सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो।

उहाँले नगरमा ठूला पूर्वाधार आयोजना भित्र्याउन विभिन्न तहमा समन्वय र पहल भइरहेको जानकारी दिँदै डण्डा तथा खोलानाला व्यवस्थापनसँग सम्बन्धित ठूला बजेटका आयोजना अघि बढाउन सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो। यस्ता आयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय जग्गा, नदी तथा अन्य पूर्वाधारसम्बन्धी विषयमा सहमति र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

यस्तै गरी वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले वडावासीलाई सवारी चालक अनुमतिपत्र [लाइसेन्स ]प्राप्त गर्न सहज बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो। लाइसेन्स प्राप्त गर्नुअघि कार चलाउने व्यावहारिक सीप आवश्यक पर्ने भएकाले तालिमको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

प्रशिक्षकसँग समन्वय गरी सामान्य शुल्कभन्दा सहुलियत दरमा वडावासीलाई प्रशिक्षणको अवसर उपलब्ध गराइएको उल्लेख गर्दै उहाँले एक महिनासम्म प्रशिक्षार्थीलाई चरणबद्ध रूपमा व्यावहारिक प्रशिक्षण दिइने बताउनुभयो।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले कार ड्राइभिङ प्रशिक्षण कार्यक्रमलाई सीप विकाससँगै रोजगारी र आत्मनिर्भरता जोड्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले ड्राइभिङ सीप व्यक्तिगत जीवनयापन, रोजगारी र वैदेशिक रोजगारीका लागि समेत उपयोगी हुने बताउनुभयो।

उहाँले राम्रो चालक बन्न व्यावहारिक ज्ञान र सीप आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले युवालाई दक्ष जनशक्तिका रूपमा विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। आफ्नै सवारीसाधन सञ्चालन गर्न वा निजी तथा व्यावसायिक क्षेत्रमा चालकका रूपमा काम गर्न पनि ड्राइभिङ सीप महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

वडाध्यक्ष गुरुङले वडा नम्बर ५ ले सीमित स्रोतसाधनका बाबजुद वडावासीलाई लक्षित गरी एकमहिने ड्राइभिङ प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको बताउनुभयो। यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै तालिमलाई व्यवहारिक र उपलब्धिमूलक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

नागरिक सरोकार मञ्चका अध्यक्ष आनन्दप्रसाद गुप्ताले प्रशिक्षणमा सहभागीहरूलाई तालिमलाई गम्भीरतापूर्वक लिएर सीप सिक्न आग्रह गर्नुभयो। उहाँले एकपटक सिकेको सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले शिक्षा, सामाजिक विकास तथा स्वास्थ्यलगायतका क्षेत्रमा स्थानीय सरकार र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। सामाजिक गतिविधि तथा नागरिक जागरूकतासम्बन्धी कार्यक्रमले समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उहाँले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले जनताको हित र आवश्यकतालाई प्राथमिकतामा राखेर उदाहरणीय काम गर्दै आएको बताउनुभयो।

कार्यक्रममा स्थानिय , वडावासी, वडा सदस्य किरणदेवी सुनार लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। भने कार्यक्रमको सञ्चालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२६-११-२८ , समय : ०८:३१:४३ , २४ मिनेटutes अगाडि