राम्रो काम गर्न सके मात्र जनताबाट ‘रिन्यू’ हुने :गृहमन्त्री पाण्डेय

रुपन्देही खबर , २७४  पटक हेरिएको

भैरहवा, फागुन २

लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफूहरुले राम्रो काम गर्न सके मात्र जनताबाट ‘रिन्यू’ हुन सक्ने बताउनु भएको छ । उहाले आफूहरु पाँच वर्षका लागि निर्वाचित भएको र राम्रो काम गर्न सके मात्र रिन्यू हुने बताउनु भएको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयमा बुधबार आयोजित सरस्वती पूजन, अक्षराम्भ एवमं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताउनु भएको हो । उहाले जनप्रतिनिधि निमित्त भए पनि शिक्षकहरु सेवानिवृत्त नभएसम्म विद्यालयमा पढाइरहने भएकाले शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

उहाले भन्नु भयो , ‘विद्यार्थीहरुलाई अध्यापनमार्फत ऐतिहासिक व्यक्ति बन्ने अवसर शिक्षकहरुले प्रदान गर्नुहुन्छ । ’ लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएको मन्त्री पाण्डेयले विद्यालयमा भौतिक पूर्वाधार आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले विगतमा भौतिक पूर्वाधारको अभावमा समेत पठनपाठन भएको बताउनु भयो । उहाले आफू जनताबाट मत प्राप्त गरी यहाँसम्म पुगेकोले जनताले आफूप्रति विश्वास राखेको बताउनु भएको छ । आगामी दिनमा पनि विद्यालयको विकासका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन गरिने उहाको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले सामूदायिक विद्यालयमा पढेका विद्यार्थी विभिन्न ओहोदामा पुगेको बताउनु भएको छ । उहाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा चासो राख्दै आगामी दिनमा पनि विद्यालयका लागि बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु.३५ लाख र विद्यालयबाट ४ लाख २७ हजार थप गरी ३९ लाख २७ हजारमा भवन निर्माण हुने बताउनु भएको छ । उहाले भवन निर्माण छिट्टै सम्पन्न गरिने बताउनु भएको छ ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा समाजसेवी नारायण प्रसाद अग्रवाल, विद्यालयका पूर्व विद्यार्थी नवराज न्यौपाने, शिक्षक रामेश्वर सुवेदी लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-१४ , समय : १८:५२:५१ , ५ महिना अगाडि