सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण घुम्ती शिविर सम्पन्न

रुपन्देही खबर , ५०८  पटक हेरिएको

भैरहवा, फागुन १९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक अपांगता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको आयोजनामा भीम अस्पताल भैरहवामा शनिबार निःशुल्क शारीरिक अपांगता परीक्षण घुम्ती शिविर सम्पन्न भएको हो । शिबिरमा बालबालिकासहित ८६ जनाले सेवा लिएको नगरस्तरीय अपांग समन्वय समितीको संयोजक समेत रहनु भएको नगर उपप्रमुख उमा अधिकारीले बताउनु भएको छ ।

शिविरमा अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका चिकित्सकद्वारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपांगता भए पनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परीक्षण समेत गराउन नसकेको अवस्थामा नगरपालिकाद्धारा ‘शिविर सञ्चालनले सेवा लिएका नगरबासी लाभान्वित भएको उहाले बताउनु भयो । उहाले शिविरको क्रममा शारीरिक रुपमा अशक्त व्यक्तिहरुको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २ जनालाई व्हीलचेयर, ३ जनालाई वैशाखी र १ जनालाई वाकर समेत उपलब्ध गराइएको बताउनु भएको छ ।

नगर उपप्रमुख अधिकारीले शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परीक्षण गर्दा १३ जनाको अपरेशन गर्नुपर्ने देखिएको बताउदै ‘अब उनीहरुको अपरेशन समेत हुने र जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँने समेत बताउनु भयो । उहाका अनुसार उक्त शिविरको परीक्षण मार्फत २ जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात नगरपालिका र केन्द्रको साझेदारीमा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै १६ जनालाई आवश्यक जुत्ताका लागि पैतलाको नाप समेत लिइएको छ ।

सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथिका र अन्य पालिकाका सर्वसाधारणहरुलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताउनु भएको छ ।

शिविरमा हात र खुट्टासँग सम्बन्धित शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु परीक्षणका लागि बढी आएको अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-०२ , समय : २३:३९:५८ , ९ महिना अगाडि